६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


‘चर्या नृत्य’ विश्वभर नेपालको पहिचान बनेर फैलियो


2.652k
Shares

काठमाडौं । ‘चर्या नृत्य’ बज्रयान बुद्ध धर्मसँग सम्बन्धित नेपालको मौलिक गुह्य नृत्य हो । गुह्य नृत्य भएकै कारण नेपालको बहा बहिमा सिमित हुन पुगेको यो नृत्य अहिले विश्वमा नेपालको पहिचान बनेर प्रसिद्ध भइरहेको पनि छ ।

चर्या नृत्य नेपालको मौलिक गुह्य नृत्य । बज्रयान बुद्ध धर्मसँग सम्बन्धित चर्या नृत्य कुनै बेला बहा बहीमा गोप्यरुपमा साधना हुने गर्दथ्यो । विशेषगरी अक्षोभ्य, रत्नसम्भव, अमिताभ, अमोघसिद्धि र वैरोचनका लगायतका पञ्चबुद्धको ध्यान मुद्रा र ध्यान भावलाई आत्मसात गरी नृत्यमा प्रस्तुत गरिन्छ ।

नृत्यमा रक्तगणेश, आर्यतारा, बज्रयोगिनी र बज्रवाराही लगायतका अन्य नृत्य प्रस्तुत हुन्छन् । महामञ्जुश्री चर्या नृत्यका प्रथम रचनाकार, संगीतकार र गायककार भएको विश्वास रहँदै आएको छ । साथै बोधिसत्वहरूले बोधिज्ञान प्रवाह गर्ने चर्या गीत र नृत्य प्रयोगमा ल्याएको मान्यता छ ।

बहा बहीमा गोप्यरुपमा साधना हुने नृत्य हाल विश्वमा नेपालको पहिचान बनेर फैलिरहेको छ । अमेरिका लगायत विश्वमा यो नृत्यलाई फैलाउन नृत्य मण्डला महाविहार पोर्टल्यान्ड बहाः जुटिरहेको छ । अमेरिकाको पोर्टल्यान्डमा नेपाली शैलीमा बहाः नै स्थापना गरेर नृत्यलाई प्रचारप्रसार र विदेशीलाई नृत्य समेत सिकाएर दिक्षित गरिरहेको छ ।

यसैबीच बहाःका प्रमुख एवं नृत्य गुरु प्रज्वल रत्न वज्राचार्यको टोली नेपाल आएको थियो । टोलीले लुम्बिनी बगैंचा र स्वयम्भू महाचैत्यलगायत नेपालका ऐतिहासिक विभिन्न विहार, बहा बहिमा सार्वजनिक रुपमा नृत्य प्रस्तुत गरेको थियो । नृत्य गुरु वज्राचार्य नेपालको मौलिक परम्परा र संस्कृतिलाई जोगाइराख्न विश्वमा नृत्यको प्रवद्र्धनमा लागि परेको बताउनुहुन्छ ।

अमेरिकी चर्या कलाकार टेया देसेसाले चर्या नृत्यमा बज्रयान बौद्ध दर्शनसँग ध्यानभाव पनि भएकोले यस प्रति समर्पित भएको बताउनुहुन्छ । कलाकार एडम विदेमा बुद्धधर्मको तान्त्रिक विधा पक्ष सशक्त नृत्यकला मार्फत प्रस्तुति गर्न सकिने भएकोले आफु यसमा लागेको बताउनुहुन्छ ।

कलाकार जोशुआ प्रोटोको धारणा पनि यस्तै छ । उहाँ भन्नुहुन्छ ‘नृत्यको ध्यानमुद्रा र ध्यान भाव विशिष्ट छ।’ बज्रयानी बुद्ध दर्शनमा आधारित नृत्यलाई लोपोन्मुख हुनबाट बचाउन बज्रचार्यको टोलीले गरेको प्रयास सरहानिय छ । बुद्ध धर्मको महान मौलिक परम्परा, कला र संस्कृतिलाई जोगाइराख्न सरकारी स्तरबाट ठोस कार्य हुन पनि जरुरी देखिन्छ ।