
काठमाडौं । विद्युतलाइन भूमिगत गर्दा काठमाडौंको तीनकुनेस्थित मुख्य खानेपानी पाइपलाइनमा क्षति पुगेको जनाइएको छ ।
आयोजना कार्यान्वयन निर्देशनालयसँग समन्व नगरी प्राधिकरण, काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली आयोजनाले विद्युतलाइन भूमिगत गर्दा काठमाडौंको तीनकुनेमा अवस्थित मुख्य खानेपानी पाइपलाइनमा क्षति पुगेको आयोजनाले जनाएको हो ।
मुख्य खानेपानी पाइपलाइनमा पुगेको क्षतिका बारेमा आयोजनालाई जानकारी नगराएका कारण बिहीबार काठमाडौंको सुन्दरीजलबाट बागमतीको प्रशोधित खानेपानी खुमलटार लैजाने क्रममा चुहावट भई तीनकुने क्षेत्र जलमग्न भएको जनाइएको छ ।
क्षति भएको मुख्य पाइपलाइनको मर्मत तथा पुनःस्थापनाको कार्य कसरी अगाडि बढाउने र त्यसका लागि लाग्ने खर्चका सम्बन्धमा आयोजनाबाट अध्ययन सुरु भएको जनाइएको छ ।
मुख्य पाइपलाइनको मर्मत एवम् पुनःस्थापनाका लागि लाग्ने सम्पूर्ण क्षतिपूर्ति रकम प्राधिकरण, काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली आयोजनाले व्यहोर्नुपर्ने जानकारी गराइएको छ ।
मेलम्चीको खानेपानी नयाँ खानेपानी वितरण संजालबाट वितरण गर्ने तयारी स्वरुप काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विच्छ्याइएका खानेपानी वितरण पाइपहरुको परीक्षण गर्ने कार्य धमाधम भइरहेको आयोजनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्