
काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनलको रोमान्चक खेलमा नेपाल पुलिस क्लबलाई २ विकेटले हराउँदै आर्मी फाइनलमा पुगेको हो ।
पुलिसले दिएको ३ सय ५ रनको लक्ष्य आर्मीले ४९ ओभर ५ बलमा ८ विकेट गुमाएर ३ सय ९ रन जोड्दै पूरा गर्यो । आर्मीको जितमा रोहित पौडेलले ८९ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै, अर्धशतकीय इनिङ खेलेका हरि चौहानले ७५ रन बनाए । राजेश पुलामीले अविजित ४३ रन बनाए भने शाहब आलम १ रनमा अविजित रहे । पुलिसका करण केसीले ६ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४ रन बनाएको थियो ।
पुलिसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले शतकीय इनिङ खेले । दीपेन्द्रले १ सय ४० रन बनाए । आरिफ शेखले अविजित रहदै ९१ रन बनाए । आर्मीका बिक्रम सोबले ३ विकेट लिए । अब उपाधिका आर्मीले एपीएफ क्लबको सामना गर्ने छ ।
फाइनल खेल शनिबार हुनेछ । पहिलो सेमिफाइनलमा मधेश प्रदेशलाई हराएर एपीएफ फाइनलमा प्रवेश गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्