१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाँच वर्षभन्दा पुराना मुद्दालाई हेर्न छुट्टै इजलास गठन गरिने


221
Shares

काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पाँच वर्षभन्दा पुराना मुद्दालाई हेर्न छुट्टै इजलास गठन गर्ने बताउनुभएको छ ।

नेपाल कानुन व्यवसायी परिषद् शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले १३ वर्षदेखिको मुद्दाको चाङ न्यायालयमा रहेको उल्लेख गर्दै त्यसलाई सम्पादन गरेर पीडितलाई न्याय दिन सो व्यवस्था गर्न लागिएको समेत स्पष्ट पार्नुभयो । उहाँले पुराना मुद्दालाई सल्टाउनका लागि आफूले त्यसलाई स्थगितको लिष्टमा नपर्ने गरी आवश्यक व्यवस्था मिलाएको पनि बताउनुभयो । कायममुकायम प्रधानन्यायाधीश कार्कीले पुराना मुद्दाहरुलाई स्थगित नगरी प्राथमिकताका साथ अघि बढाउन कानुन व्यवसायीहरुलाई समेत आग्रह गर्नुभयो ।

कायममुकायम प्रधानन्यायाधीश कार्कीले न्यायालयको स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोज्नेहरुलाई निष्तेज पार्ने काममा नेपाल बारले खेल्दै आएको भूमिकाको प्रशंशा समेत गर्नु भयो । न्यायालयको स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजिएको इतिहास स्मरण गराउँदै उहाँले त्यसलाई जोगाउनका लागि नेपाल बारले खम्बाकोरुपमा काम गरेको बताउनु भयो । कायममुकायम प्रधानन्यायाधीश कार्कीले बार र बेञ्चको सहकार्यमा मात्रै न्यायलयलाई उचाई पुर्‍याउन सकिने पनि बताउनुभयो ।

कायममुकायम प्रधानन्यायाधीश कार्कीले न्यायपालिकालाई उचाईमा पुर्‍याउनका लागि बार र बेञ्चबीच हातेमालो गरेर अघि बढनुपर्ने पनि पटकपटक दोहोर्‍याउनुभयो । त्यसका लागि सहकार्यका साथ अघि बढन आफूहरु सदा तयार रहेको उहाँले बताउनुभयो ।