
इलाम । नेपाली कांग्रेसका इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार डम्बरबहादुर खड्काले साेही क्षेत्रलाई दुर्गमबाट सुगम भनेर चिनाउने दावी गर्नुभएकाे छ ।
देउमाई नगरपालिकाको मंगलबारेमा शनिबार आयोजित चुनावी कार्यक्रम सभालाई सम्बोधन गर्दै उहाँले आफूले एक पटक काम गर्ने अवसर पाए दुर्गमालाई ५ वर्षभित्रमा सुगम भनेर चिनाउने गरी विकासका योजनाहरु ल्याउने बताउनुभयो । नेता खड्काले विगत लामो समय देखि एउटै ब्यक्ति निर्वाचित गराएर पठाएपनि यस क्षेत्रको विकास नभएको तर्क गर्नुभएकाे हाे । उहाँले अब मतदातालाई नयाँ अनुहार चुन्ने मौका आएको समेत बताउनुभयो ।
उहाँले अहिलेको गठबन्धन लोकतन्त्र सुदृढीकरण गर्न, भ्रष्टाचार नियन्त्रण गर्न तथा मुलुकमा सुशासन कायम गर्न बनेकाे दावी गर्नुभयाे । यसपटकको निर्वाचनमा गठबन्धनले सफलता हासिल गर्नुपर्ने आवश्यकता समेत उहाँले औँल्याउनुभयो । जसका कारण सम्पूर्ण मतदातालाई यसपटक गठबन्धनलाई सहयोग गर्न अपिल समेत उहाँले गर्नुभयो ।
इलाम क्षेत्र नम्बर २ मा पर्ने पश्चिमी भेगका गाउँपालिकाहरु विकासको दृष्टिकोणले निकै पछि परेको छ । जिल्लाको माङसेबुङ्ग, फाकफोकथुम, चुलाचुली गाउँपालिका र देउमाई नगरपालिका विकासको हिसाबले निकै पछि परेका पालिकामा पर्दछन । साेही क्षेत्रमा सदरमुकामको इलाम नगरपालिका पनि पर्दछ । तर यो पालिका भन्दा अरु पालिकाको विकासले फड्को मार्न सकेको छैन ।
सडक, शिक्षा, खानेपानी र बिजुली जस्ता अत्यावश्यक सुविधाबाट सोही पालिकाका बासीन्दा अझै पनि वञ्चित हुनु परेको छ । खानेपानी, स्वास्थ्य र बाह्रैमास गाडी चल्ने सडक चाहिँ यहाँको मुख्य आवश्यकता हुन् । यो क्षेत्रमा हिउँदा भर जसोतसो गाडी चल्छ र बर्खा लागेपछि सबैतिर ठप्प हुँदै आएको छ ।
क्षेत्र नम्बर २ मा २०५६ को चुनावबाट पटक-पटक निर्वाचित हुनुभएका नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको क्षेत्र समेत पर्दछ ।
प्रतिक्रिया दिनुहोस्