१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मल, बीउ र सिंचाई उपलब्ध गराउने उम्मेदवार भक्तपुरका किसानको प्राथमिकतामा


169
Shares

काठमाडौं । राजनीतिको विषयमा खासै चासो नराख्ने भक्तपुर क्षेत्र नम्बर १ का मतदाता प्रायजसो कृषि कर्ममै रमाउने गर्दछन् । तर आसन्न निर्वाचनलाई लिएर उनीहरु पनि उत्साही छन् । जनताको एजेण्डा बोक्ने उम्मेदवारलाई मत हाल्ने छनक भक्तपुरबासीले दिएका छन् ।

भक्तपुर क्षेत्र नम्बर १ मनोहरा फाँटमा खेती गर्ने किसानको दैनिकी फाँटमै बित्ने गर्दछ । कामको बेलामा खाजा देखि खाना सम्मै फाँटमै खाने मतदातालाई राजनीतिमा चासो छैन । तर चुनाव नजिकिँदै गर्दा भोट हाल्ने दिन चाहीँ फुर्सद मिलाउने तरखरमा उनीहरु छन् । आफ्नो घर दैलोमा हरेक दिन जसो भोट माग्न उम्मेदवार आइरहेको बताउने किसान यसपटक आफ्ना उम्मेदवारसंग अरुबेला भन्दा फरक माग राख्दैछन् ।

आफूले जिताएर पठाएको जनप्रतिनिधिले देश र जनताको हितमा काम गर्नु त छँदैछ, त्यो भन्दा बढी रासायनिक मल तथा सिँचाई सुविधाको माग गरेका छन् । विगतका केही बर्ष यता सीमित रासायनीय मल पाइरहँदा घरमा उत्पादन भएको मलको भरमा कृषि कर्म गर्नुपरेको बाध्यता रहेको गुनासो गर्दछन् । पैसा तिर्छु भन्दा पनि मल नपाउँदा खिन्न किसान उब्जनीमै आनको तान फरक आएको दुखेसो गर्छन् । कृषि सामाग्रीको भाउ उतार चढाबले किसान थुप्रै आर्थिक क्षति व्यहोर्न बाध्य भएको राजन कुस्मा बताउनुहुन्छ ।

यस क्षेत्रका किसान आफूहरुले वर्षौदेखि कृषि पेसा गर्दै आएको तर आफ्ना सन्तान दरसन्तान यो पेसामा नलाग्ने भएकाले उनीहरुले देशमै उपयुक्त रोजगार पाए हुन्थ्यो भन्ने पुण्यराम भेलेको कामना छ ।

निर्वाचन आयोगले घरदैलोमा पुगेर मतदाता शिक्षा दिएको दाबी गरिरहँदा मतदाता कसरी मत हाल्ने भन्नेमा प्रष्ट हुन सकेका छैनन् ।

जनतालाई केन्द्रबिन्दुमा राखेको बताउने राजनीतिक नेतृत्व आफ्नो मुख्य एजेन्डा बनाएपनि कृषि क्षेत्रको विकासमा नेताहरु चुकेको भक्तपुरे मतदाताको निष्कर्ष छ । नेपालको ७० प्रतिशत बढी जनसंख्या प्रत्यक्ष कृषि पेशामा लागेको छ । तर वर्षेनी मल, बिउ, सिँचाईदेखि बजारसम्मका चुनौतिले किसान हरेस खाने अवस्था छ ।