६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


कृषक भेट्न उम्मेदवार खेतबारीमा, मतदातामा भने देखिएन उत्साह


117
Shares

तेह्रथुम । तेह्रथुममा विभिन्न दलका उम्मेदवारहरु भोट माग्दै गाउँगाउँमा पुग्ने क्रम जारी रहेकाे छ । खेती भित्र्याउने र नयाँ बाली लगाउने चटारोमा रहेका कृषक भेट्न उम्मेदवारहरु खेतबारीमै पुग्ने गरेका हुन् ।

तेह्रथुमका कृषकले लगाएको धान पाकेर पहेलपुर बनेको छ । थन्क्याउन लागेको बेलामा असिना र पानी आयो भने आफूले श्रम गरी उत्पादन गरेको बाली माटोमै मिल्ने उनीहरुलाई चिन्ता छ । उता, निर्वाचन नजिकिँदै जाँदा आफ्नो पक्षमा मतदान गर्न मतदाता रिझाउन उम्मेदवारहरुलाई हतारो छ ।

उम्मेदवारहरु गाउँगाउँमा पुगेका छन् भने कृषक आफूले लगाएको बाली थन्क्याउन खेतबारीमा छन् । नेताहरु आफूलाई भेट्न आएको तर आफूहरु धान काट्न र थन्क्याउन व्यस्त रहेको म्याङलुङ नगरपालिका–५ तेह्रथुमका कृषक मनमाया सार्की बताउँनुहुन्छ ।

उम्मेदवारहरुले नागरिकको समस्यालाई समाधान गर्न पहल गर्ने आश्वासन दिँदै आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै छन्। एक मात्रै निर्वाचन क्षेत्र रहेको तेह्रथुममा प्रदेशसभा (क) र (ख) मा आफ्नो निर्वाचनकाे भेटघाट र घरदैलोमा उनीहरु जुटिरहेका छन् । तेह्रथुममा विकास र सम्वृद्धि ल्याउन उम्मेदवारी दिएकाले आफूलाई जिताउन नागरिकलाई प्रतिनिधि सभाकी उम्मेदवार तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सिता गुरुङले आग्रह गर्नुभएको छ ।

यता घर–टोलमा उम्मेदवारहरुले गर्ने गरेको निर्वाचनकाे भेटघाटमा नागरिकको सहभागिता विगतको जस्तो देखिएको छैन । उम्मेदवारहरु भने मतदान गर्न अनुरोध गर्दै नागरिक समक्ष पुग्ने गरेका छन् ।

गत निर्वाचनमा प्रतिनिधि तथा प्रदेश सभा दुवै जितेको नेकपा एमालेलाई यसपटक भने गठबन्धनका कारण चुनौती थपिएको छ । तेह्रथुममा एक स्वतन्त्र सहित ९ दलका प्रतिनिधि सभामा १० जना उम्मेरदवार रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार तेह्रथुममा ७१ हजार ९ सय ३३ मतदाता रहेका छन् ।