७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


म्याग्दीका उम्मेदवारले चुनावी प्रचारप्रसारलाई तीव्र बनाउँदै


65
Shares

म्याग्दी । आगामी मंसिर ४ गते हुने चुनाव आउन ५ दिन मात्र बाँकी रहँदा म्याग्दीका उम्मेदवारहरुले प्रचारप्रसार अभियानलाई अन्तिम चरणमा पुर्याएका छन् ।

बाहिरबाट हेर्दा प्रशन्न देखिएका उम्मेदवारहरुले एकैदिन ५ वटासम्म चुनावी सभामा भाषण गर्दै म्याग्दीको भूगोल कालीगण्डकीको तिरदेखि धौलागिरी हिमालको शिरसम्म फैलिएकोले समग्र जिल्लाको विकासमा आफू प्रतिवद्ध रहेको व्यक्त गरेका हुन् । मतदान गर्ने दिन नजिकिंदै जाँदा प्रचारप्रसारको अभियानले चुनावको सरगर्मी ह्वात्तै बढाएको छ ।

सोमबार लोकतान्त्रिक–वाम गठबन्धनले रघुगंगा गाउँपालिका–८ घ्यासीखर्क, वडा नम्बर ७ चिमखोला, वडा नम्बर ४ दर्मिजा, दग्नाम र वडा नम्बर ३ पिप्लेमा चुनावी आमसभामा सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खमवीर) ले कालीगण्डकी नदीको तीरदेखि धौलागिरी हिमालको शिरसम्मको भू–भाग समेटिएको म्याग्दीलार्य पर्यटन, जलविद्युत, कला संस्कृति, जडिबुटी खेती, कृषि र पशुपालनमा रहेको सम्भावना उजागर गर्दै भौतिक पूर्वाधार निर्माणमार्फत समृद्ध र विकसित बनाउने प्रतिवद्धता जनाउनुभयो।

उहाँले रघुगंगाको सबै वडामा सडकको ट्याक निर्माण भएपनि त्यसलाई स्तरीय बनाउँदै कालोपत्रे गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयाे । गठबन्धनको पक्षमा मतदान भएमा पाँच वर्षमै विकास निर्माणमार्फत जिल्लाले फड्को मार्ने दावी गर्नुभयो। उहाँले भन्नुभयो,-‘यस अघि निर्वाचित भएका व्यक्तिहरुको भूमिका चुनावदेखि संसद भवनसम्म मात्रै भयो । जनताको अवस्थामा कुनै सुधार आएन । हामीलाई यस पटक चुनाव जित्ने र जनताको मन जितेर काम गर्ने दुवै अवसर छ । गठबन्धनको पक्षमा न्योचित फैसला जनताले अवश्य गर्ने छन् ।’

त्यसै गरी गठबन्धनबाट प्रदेश सभा (क) का उम्मेदवार नेकपा माओवादी केन्द्रका हरि भण्डारीले विविधताले भरिपूर्ण उत्तरी म्याग्दीमा लुकेर रहेका सम्भावनाको उजागर, समस्याहरुको पहिचान, निराकरणसँगै सडक, शिक्षा, स्वास्थ्य, खानेपानीका सुविधा विस्तार र गुणस्तर सुधार गर्ने बताउनुभयाे । उहाँले युवाहरुलाई स्वदेशमै आत्मनिर्भर बनाउने आफ्नो प्रमुख एजेण्डा भएको बताउनुभयो । उहाँले परिवर्तनलाई संस्थागत र विकासलाई गति दिन युवाहरुलाई जिम्मेवारी दिनु अपरिहार्य रहेको बताउँदे गठबन्धनका उम्मेदवारलाई मतदान गरि विजयी गराउन आग्रह गर्नुभयो ।

त्यसैगरी नेकपा एमाले म्याग्दीबाट प्रतिनिधि तथा प्रदेश सभा सदस्यका उम्मेदवारहरुले गाउँमा विकास लिएर फर्किने बताएका छन् । प्रदेशसभा (२) का उम्मेदवार यामबहादुर गर्बुजाले युवालाई स्वरोजगार बनाउन कृषिजन्य उत्पादनमा जोड दिने बताउनुभयो । पर्यटन, पूर्वाधार, आधुनिक कृषि खेती, पशुपालन तथा ज्ञान, सिपमा आधारित रोजगारी र आय आर्जनका कार्यक्रमलाई प्रभावकारी कार्यान्वय गर्न पहल गर्ने उहाँले प्रतिवद्धता जनाउनुभएको छ ।

प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई क्षेत्र रहेको म्याग्दीमा ३ पदका लागि १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधि सभामा ३ जना स्वतन्त्रसहित ९ जना, प्रदेशसभा क्षेत्र (क) र (ख) मा पाँच-पाँच जना उम्मेदवार रहेका छन् । सबै उम्मेदवारहरुले जिल्लाको विकास नै पहिलो प्राथमिकता भएको बताएका छन् ।

६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ वटा मतदान स्थल र १ सय १९ वटा मतदान केन्द्र छन् । बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदान स्थलमा ६८ वटा केन्द्र रहेको प्रदेश सभा क्षेत्र (क) मा ४८ हजार ४ सय ७२, मंगला, मालिका र धवलागिरी गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेश सभा क्षेत्र (ख) मा ३७ हजार ६ सय ४८ जना मतदाता रहेका छन् ।