
काठमाडाैं । सरोकारवालाहरुले एकल आमाका सन्तानको जन्म दर्तामा अझैपनि समस्या रहेको गुनासो गरेका छन् ।
उनीहरुले आमा सूचक बनेर कुनै पनि स्थानीय निकायहरुमा गएर जन्म दर्ता बनाउन सक्ने अवस्था नरहेकाले एकल आमाका सन्तानहरुले जन्म दर्ता पाउनुपर्ने बताएका हुन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै अधिवक्ता एवं महिला अधिकारकर्मी बिनु लामाले जन्मदर्ता बनाउँदा आमा पनि सूचक बन्न सक्ने कानूनी प्रावधान रहेपनि सरकारी कार्यालयहरुले बुबालाई खोज्ने गरेको बताउनुभयो ।
उहाँले एकल आमाबाट जन्मिएका सन्तानको जन्मदर्तामा देखिएको समस्याले सन् २०३० सम्म सबै बालबालिकाको जन्मदर्ता सम्बन्धी दिगो विकास लक्ष्य हासिलमा कठिनाइ हुने बताउनुभयो । सरकारले सन् २०३० सम्ममा कुनै पनि बालबालिकाहरु जन्मदर्ताबाट वञ्चित हुन नपर्ने गरी लक्ष्य हासिल गरिने बताउँदै आएको छ। अधिकारकर्मी लामाले अनलाइन जन्म दर्ता गर्ने प्रावधानमा पनि बुबाको स्थानमा पत्ता नलागेको भन्ने शब्द राखिएकोप्रति आपत्ति जनाउनुभयो । बालबालिकामा यस्तो शब्दहरुले नराम्रो असर पर्ने उहाँको भनाइ थियो ।
उहाँले अनलाइन जन्म दर्ताको बारेमा वकालत गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। जन्मदर्ता सम्बन्धी कानून कार्यान्वयनको पक्षमा धेरै कमजोरी रहेको उहाँको भनाइ छ । उहाँले स्थानीय तहमा रहेका सचिव र चुनिएर गएका जनप्रतिनिधिहरुलाई बुबाको नामबाट मात्र नभइ आमाको नामबाट पनि जन्मदर्ता गराउनुपर्छ भन्ने मानसिकता विकास गर्न क्षमता वृद्धि विकासका तालिमहरु दिन जरुरी रहेको बताउनुभयो ।
महिला अधिकारकर्मी लामाले सरकारी तथ्यांकका लागि मृत जन्मेका बच्चाहरुको पनि जन्मदर्ता गराउनु आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्