२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कुनै उम्मेदवार पुगेनन् हरिकृष्णसँग भोट माग्न


559
Shares

काठमाडौं । आफ्नै खेतीपातीमा सधै व्यस्त रहने काभ्रेका हरिकृष्ण धौब दलका नेताहरु प्रति बितृष्णा जागेपनि मताधिकारको उपयोग गर्ने सोचमा छन् । चुनावले छोपिसक्दा पनि कुनै उम्मेदवारले आफूसँग भोट नमागेको उहाँ गुनासो गर्नुहुन्छ । कसैले भोट नमागेपनि आफूलाई चित्त बुझ्ने नेतालाई भोट दिने हरिकृष्णको सोच रहेको छ ।

यस क्षेत्रका अधिकांश मतदाता खेतीपातीमा व्यस्त हुन्छन । माटोमै रमाउनु उनीहरुको दैनिकी हो । बाली राम्रो हुँदा किसानको दैनिकी सहज हुने हुँदा उनीहरुको पहिलो र अन्तिम माग भनेकै मल हो । जसलाई जिताएर पठाएपनि आपतविपतमा सहारा नपाउनुको पीडा त छँदै छ । मलको आवश्यकता छ मल दिने व्यक्ति चाहेको गीता थापा बताउनुहुन्छ ।

नाला निवासी केही मतदाता उम्मेदवारहरुको तालतालको शैलीलाई नजिकबाट नियालिरहेका छन् । हेर र पर्खको नीति लिएर उनीहरु मतदान गर्ने पक्षमा छन् ।

आफनै खेतबारीमा काममा व्यस्त बनेपा निवासी अष्टकाजी श्रेष्ठलाई चुनाव भन्दा पनि आफनो पेशामा खेप्नु परेको हैरानीले चिन्तित बनाउँछ । मल नपाउँदाको समस्यामा कसैको पनि आँखा जार्दैन । भोटका लागि मात्र मतदाता कहाँ पुग्ने नेताको व्यवहार देखि अष्टकाजी गुनासो छ ।

चुनावी प्रचारका आ-आफ्ना दुःख छन् । मतदाता उम्मेदवारलाई गुनासो सुनाउन आतुर छन् । उम्मेदवारलाई सीमित समयमा धेरै मतदाता भेट्ने चटारो छ । नेतालाई आफ्नो कठघरामा उभ्याउन पाइने यो अवसर मतदाता भरपूर उपयोग गर्न चाहान्छन् । काभ्रेका ग्रामीण मतदाता कृषि कर्मलाई सहज बनाइदिने जनप्रतिनिधिको खोजीमा छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ६ पदको छिनोफानो हुने २ वटा क्षेत्र रहेको काभ्रेपलाञ्चोकमा ६४ जना उम्मेदवार चुनावी मैदानमा रहँदा यहाँकै मतदाताले उनीहरुको भविष्य निर्धारण गर्ने छन् ।