
काठमाडौं । सरकारले निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा भएको जनाएको छ ।
गृह मन्त्रालयले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षाको प्रबन्ध मिलाइएको जनाएको हो ।
गृह सचिव विनोदप्रकाश सिंहले भयरहीत वातावरणमा निर्वाचन गराउन सरकार सक्षम रहेको र भरपर्दो सुरक्षा व्यवस्थाको सुनिश्चितता गरिएको भन्दै निर्धक्क भएर मताधिकार प्रयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले देशका सबै ठाउँका मतदान केन्द्रहरुमा सुरक्षा व्यवस्था चुस्त रहेको र निर्धक्क भइ मतदान गर्नसक्ने वातावरण तयार गर्न सुरक्षा निकायहरु सक्षम रहेको बताउनुभयो । गृहसचिव सिंहले उम्मेदवारको सुरक्षा, मतदाताको सुरक्षा, निर्वाचनमा खट्ने कर्मचारीको सुरक्षा र निर्वाचन सामाग्रीको सुरक्षाको उचित प्रवन्ध मिलाउने कार्यका लागि सुरक्षाकर्मीहरु निर्वाचन केन्द्रमा पुगिसकेको बताउनुभयो ।
देशभर कुल १० हजार ८ सय ९२ वटा मतदान स्थलहरु र २२ हजार २ सय २७ वटा मतदान केन्द्रहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्