
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनपछि बन्ने एमालेको सरकारले नागरिकताको समस्या एक वर्षभित्र समाधान गर्ने बताउनुभएको छ ।
बुधबार सुनसरीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले एमालेले नेपाली नागरिकलाई नागरिकता दिन नछेकेको तर विदेशीलाई दिन भने रोक्ने बताउनुभयो । उहाँले अहिले एमालेलाई नागरिकता विरोधीको पार्टी जस्तो बनाइएको भन्दै यथार्थमा एमाले नागरिकता समस्या समाधानमा लागेको बताउनुभयो ।
अध्यक्ष ओलीले अहिले नागरिकताबारे तमासा भइरहेको भन्दै मंसिर ४ पछि एमाले नेतृत्वमा बन्ने सरकारले नागरिकता दिने अभियान नै सुरु गर्ने बताउनुभयो । उहाँले जन्मसिद्धका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्ने ऐन एक महिनाभित्र बनाएर अंगिकृतका सन्तानलाई वंशजका आधारमा नागरिकता दिइने आश्वासन दिनुभयो ।
अध्यक्ष ओलीले नेपाली नागरिकले नागरिकता पाउनुपर्छ भन्नेमा अहिले विवाद नभएर विदेशीलाई दिनुपर्छ भन्नेसँग भइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्