
अर्घाखाँची । अर्घाखाँचीमा आइतबार हुने निर्वाचनमा मतदान केन्द्रमा पुगेर मतदान गर्नका लागि अशक्त, ७० वर्ष भन्दा माथिका वृद्धवृद्धा र अपांगता भएका व्यक्तिलाई सवारी साधनकाे पासको व्यवस्था गरिएकाे छ ।
यसका लागि संकल प्रमाण पेश गरेका लागि मात्र यातयातको व्यवस्था रहेको अर्घाखाँचीका मुख्य निर्वाचन अधिकृत डा. श्रीकृष्ण भट्टराईले बताउनुभएकाे हाे । रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले सन्धिखर्कमा आयोजना गरेको कार्यक्रलाई समबाेधन गर्दै उहाँले यस्ताे बताउनुभएको हो । जसअनुसार जिल्लाका ६१ वटै वडाका लागि १-१ वटा सवारी साधनकाे पास दिने समेत उहाँले बताउनुभयो ।
निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कर्माचारी, जनपथ र म्यादी गरी २ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताउनुभयो। ‘निर्वाचन स्वच्छ हुन्छ, राज्य संयन्त्रले सबै तयारी पूरा गरेको उहाँले बताउनुभयाे । मतदान स्थलमा समस्या आएमा १५ मिनेट भित्रमा नेपाली सेना,सशस्त्र प्रहरी मतदान स्थलमा पुग्ने गरी तयारी पूरा गरेकाे उहाँकाे तर्क छ । मतदातालाई ढुक्क भएर मतदान गर्न समेत उहाँले आग्रह समेत गर्नुभएको छ ।
निर्वाचनमा १ हजार ६ सय १८ जना कर्मचारी खटिने भएका छन् । एउटा प्रतिनिधि सभा तथा दुई वटा प्रदेशसभा रहेको जिल्लामा कर्मचारी व्यवस्थापन, निर्वाचन सामग्री प्याकिङ, सवारी साधनको व्यवस्था लगायतका काम पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ । ३ नगरपालिका र ३ गाउँपालिका गरी ६ स्थानीय तह रहेको जिल्लामा ९७ मतदानस्थल, २ सय ३ मतदान केन्द्र रहेका छन् ।
निर्वाचनमा अर्घाखाँचीका १ लाख ६४ हजार ७ सय ६८ मतदाताले मताधिकार उपयोग गर्ने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्