
काठमाडाैं । प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको लागि काठमाडौं उपत्यकाका नाकाहरुबाट घर फर्किने मानिसहरुको चहलपहल तीब्र बनेको छ ।
भोट हाल्न एक दिन मात्रै बाँकी रहँदा काठमाडौंबाट अन्य जिल्ला बाहिरिने नाकाहरु कोटेश्वर, कलंकी, बालाजु लगायतका क्षेत्रमा घर फर्किने यात्रुहरुको चहलपहल तीब्र बनेको हो । आइतबार हुने निर्वाचनका लागि ३ गते मध्यरातिदेखि गाडी चलाउन नपाइने भएकाले आज शनिबार काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या उल्लेख्य देख्न सकिन्छ । काठमाडौंको कोटेश्वरबाट भोट हाल्न गाउँ फर्किन लागेका अधिकांश मतदाताहरुले यसअघि नेताहरुले आफूले गरेका प्रतिवद्धता पूरा नगरेको र विकासका कामहरु पनि गर्न नसकेको बताएका छन् ।
उनीहरुले देश विकासका लागि भन्दा आफ्ना आफन्तहरुको भरपोषण मात्रै गरेको उनीहरुको गुनासो छ । धादिङका बासीन्दा लालबहादुर लामा भोट हाल्नका लागि जिल्ला जाने तरखरमा शनिबार बिहानै कोटेश्वरमा गाडी कुरिरहनुभएको थियो । उहाँले नेताहरुले निर्वाचनका लागि जनतालाई प्रलोभनमा पार्ने तर समग्र देशको विकास गर्न नसकेको बताउनुभयो। त्यस्तै काभ्रेपलाञ्चोकका विजय क्षेत्री अबको निर्वाचनमा सक्षम युवाहरुलाई देश विकासको अवसर दिनुपर्ने बताउनुहुन्छ ।
अहिलेका राजनीतिक दल र नेताहरुको काम नगर्ने शैलीप्रति असन्तुष्ट उहाँले युवाहरुमा नै अब देश विकासको आशा रहेको बताउनुभयो । त्यस्तै रामेछापमा मतदानका लागि जान लाग्नुभएका रामजी खड्का विकास गर्न सक्षम युवाहरुलाई जिताउन आवश्यक रहेको बताउनुभयो । उहाँ पनि अहिलेको राजनीतिक दल र नेताहरुप्रति असन्तुष्ट नै हुनुहुन्थ्यो । त्यस्तै काभ्रेपलाञ्चोक जिल्लाका गौरीशंकर गौतमको भनाइ पनि युवाहरुको भन्दा फरक छैन ।
उमेरले ७) नाघिसक्नुभएका उहाँ युवाहरुले मात्रै अब देश विकास गर्नसक्ने बताउनुहुन्छ । नेतृत्व गर्ने ठाउँमा युवाहरु गए मात्रै देशले विकास पाउन सक्ने उहाँले बताउनुभयाे । शनिबार कोटेश्वर क्षेत्रमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उल्लेख्य मात्रामा मानिसहरु मतदानका लागि गाउँ फर्किने तयारीमा गाडी कुरिरहेका थिए। केही राजनीतिक दलका नेताहरुले पठाएको सवारीसाधनमा गाउँ जान लाग्दै थिए भने कोही आफ्नै खर्चमा मौलिक अधिकार मतदानका लागि गाउँ फर्किने तयारीमा देखिएका छन् ।
अधिकांश जनताहरुले यसपटक विकासका कामलाई अघि बढाउन सक्ने नेतृत्वको खोजी गरेका छन् । आफ्नो क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र बिजुली बत्ती लगायतका विकासका कामहरु अघि बढाउन समेत आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्