
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आम निर्वाचनको ऐतिहासिक महत्व रहेको बताउनुभएको छ ।
शनिबार एक सन्देश जारी गर्दै उहाँले निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आम निर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरु क्रमशः जनउत्तरदायी हुँदै जाने उल्लेख गर्नुभएको छ ।
निर्वाचनबाट शासन प्रणालीमा जनताले खोजेको सुशासन र पारदर्शिता स्थापित गर्न मद्दत पुग्ने उहाँको विश्वास छ । स्वस्थ र सबल लोकतन्त्रबाट शान्ति, स्थायित्व र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सकिने उहाँको सन्देशमा उल्लेख छ ।
मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएको भन्दै उहाँले निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन सबैमा अनुरोध गर्नुभएको छ । जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भएको उहाँले बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्