
काठमाडौं । प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि मतदान सुरु भएको छ ।
निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९ का लागि आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मतदानमा भाग लिन मतदाताहरु उत्साहित भएर लाइनमा बसेका छन् । प्रतिनिधि सभाको १६५ स्थान र प्रदेश सभाको ३३० स्थानका लागि आज प्रत्यक्ष मतदान सुरु भएको हो । त्यसैगरी प्रतिनिधि र प्रदेश सभाको समानुपातिक तर्फका लागि पनि आजै मतदान भइरहेको छ । त्यसका लागि आयोगले ४ वटा मतपत्रको व्यवस्था गरेको छ ।
मतदानका लागि आयोगले १० हजार ८ सय ९२ मतदानस्थल र २२ हजार २ सय २७ मतदान केन्द्र तय गरेको छ । निर्वाचन सम्पन्न गर्नका लागि साढे ५ लाखजति सुरक्षाकर्मी र कर्मचारी खटिएका छन् । मुलुक संघीयतामा गएपछि संघीय संरचना अनुसारको यो दोस्रो निर्वाचन हो । यस अघि २०७४ मा स्थानीय,संघीय संसद र प्रदेश सभाको निर्वाचन भएको थियो । स्थानीय तहको दोस्रो निर्वाचन भने गत बैशाख ३० मा सम्पन्न भएको थियो ।

२०७४ मा दुई चरण गरेर निर्वाचन सम्पन्न भएको थियो । तर यसपटक एकै चरणमा निर्वाचन भएको हो । निर्वाचन आयोगले मतदानका लागि मतदाता परिचयपत्र लैजानु पर्ने जनाएको छ । यदि मतदाता परिचयपत्र नभए नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतीपत्र,लालपूर्जा र राहदानीका आधारमा पनि मतदान गर्न पाइने आयोगले जनाएको छ
प्रतिक्रिया दिनुहोस्