२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


मत गणना आजै रातिबाट सुरु हुने


78
Shares

काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरु आज आइतबार राति ९ बजेदेखि नै मत गणना कार्य सुरु गरिने बताउनुभएको छ ।

आइतबार भक्तपुरको युनिक नेपाल एकेडेमीस्थित मतदान केन्द्रबाट उहाँले प्रतिनिधि र प्रदेश सभा सदस्यको मतदान गर्दै यस्तो बताउनुभएको हो । आइतबार बिहान ७ बजेबाट देशभर नै एकैचरणमा मतदान सुरु भएको छ । आफ्नो मत खसालीसकेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस निर्वाचनमा ७० प्रतिशत भन्दा बढी मतदान हुनेमा आयोग विश्वस्त रहेको बताउनुभयो ।

उहाँले आइतबार साँझ ५ बजे मतदान कार्य सम्पन्न हुना साथ सबै मतपेटिकाहरु संकलन गर्ने कार्य प्रारम्भ हुने र ७ बजेसम्म मतपेटिका संकलन गरी एक घण्टा छलफलको समय राखेर आइतबार राति ९ बजेदेखि मतगणना कार्य प्रारम्भ हुने बताउनुभयो । उहाँले हिमाली जिल्लामा मतपेटिकाहरु आइतबार नै जम्मा गर्न नसकिने भएकाले साेमबार बिहान ५ बजेसम्म सबै मतपेटिक जम्मा गर्ने र आवश्यक परे हेलिकाेप्टरबाट मतपेटिका संकलन गरी साेमबार ५ बजेबाट नै मतगणना कार्य प्रारम्भ गर्ने बताउनुभयो । उहाँले प्रत्यक्षतर्फको नतिजा ८ दिन भित्रमा प्रकाशित गर्ने बताउनुभयो । उहाँले मंसिर २२ गते भित्रमा सबै नतिजा आउने बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतगणना कार्य सुव्यवस्थित र चाँडो सम्पन्न गर्ने मत गणना अधिकृतहरुलाई आयोगले विशेष सुविधा प्रदान गर्ने बताउनुभयो। मतदान केन्द्र अहिले शुरुमा भएर त्यति व्यवस्थित हुन नसकेपनि बिस्तारै व्यवस्थित हुनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो ।