
पर्वत । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका स्थित वडा नं. ७ राम्जाको पशुपति मावि (क) केन्द्रबाट मतदान गर्नुभएको छ ।
आज आइतबार बिहान प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उहाँले पशुपति माविबाट मतदान गर्नुभएको हो ।
निर्वाचनमा ढुक्क भएर मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण मतदातालाई अनुरोध समेत गर्नुभएकाे छ । पर्वतमा मुख्य निर्वाचन अधिकृत आनन्दप्रसाद श्रेष्ठले पहिलो मतदान गरेपछि जिल्ला भर मतदान प्रक्रियाको शुभारम्भ भएकाे हाे । उहाँले कुश्मा नगरपालिका स्थित कुश्मा बजारमा रहेको अस्थायी मतदान केन्द्रबाट प्रतिनिधि सभा सदस्यको समानुपातिक मतपत्रमा मतदान गरी मतदान कार्यक्रमको सुरुवात गर्नुभएको हो ।
यसैगरी प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीले कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङको काफलचौर मावि, अर्का उम्मेदवार अर्जुनप्रसाद जोशीले कुश्मा नगरपालिका वडा नं. ४ मा रहेको नारायण माविबाट मतदान गर्नुभएको छ । प्रदेश सभा तर्फ क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार भक्त कुँवरले मोदी गाउँपालिका वडा नं. ५ मा रहेको महेन्द्रशिखरी मावि बाजुङ र गठबन्धनका उम्मेदवार सुदिप कुँवरले कुश्मा–१२ ठूलीपोखरीमा रहेको जनता सुदर्शन माविबाट मतदान गर्नुभएको छ ।
त्यसैगरी प्रदेश सभा क्षेत्र २ मा एमालेका उम्मेदवार मित्रलाल बस्यालले पैंयु–४ मा रहेको जनसेवा संस्कृति मावि हुवास मतदान केन्द्र र गठबन्धनका उम्मेदवार ऋषिकेश तिवारीले फलेवास–४ मा रहेको माटेदेवल माविबाट मतदान गर्नुभएको छ ।
पर्वतमा निर्वाचनका लागि कुल ७६ मतदान स्थलका १ सय ५० मतदान केन्द्र तय गरिएका छन् ।
यस पटकको निर्वाचनमा पर्वतमा ६० हजार ६ सय ५१ पुरुष र ६१ हजार ९ सय ९८ महिला गरी कुल १ लाख २२ हजार ६ सय ४९ मतदाता रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयसहितको सुरक्षा संयन्त्रले पर्वतमा ३५ मतदान स्थल अति संवेदनशिल, ३१ मतदान स्थल संवेदन शिल र १० मतदान स्थललाई सामान्य सूचीमा वर्गिकरण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्