
बैतडी । प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्र्तगत बैतडीमा पनि मतगणना सुरु भएको छ ।
मतगणना कार्य सोमबार अपरान्ह साढे ४ बजेदेखि सुरु भएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताउनुभयो ।
सदरमुकामस्थित जिल्ला अस्पतालको नवनिर्मित भवनको दोस्रो तलामा मतगणना थालिएको हो ।
प्रतिनिधि सभा र प्रदेशसभा प्रत्यक्षको मतगणना सुरु भएको र त्यसपछि समानुपातिकको मतगणना गरिने छ ।
मतगणना मतगणनास्थलमा सीसी क्यामेरा र तारजालीको व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
आइतबार सम्पन्न निर्वाचनमा बैतडीमा कुल मतदाताको ५२ दशमलव २२ प्रतिशत मत खसेको थियो । १ लाख ५० हजार १५६ मतदाता रहेकामा ७८ हजार ४१६ मत मात्रै खसेका थिए ।
प्रतिनिधिसभाका लागि १ र प्रदेश सभाका लागि २ क्षेत्र रहेको बैतडीमा २२ जना चुनावी मैदानमा रहेका छन् ।
प्रतिनिधि सभामा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य नरेन्द्रबहादुर कुँवर विजयसुन्दर र एमालेका प्रदेश अध्यक्ष दामोदर भण्डारीबीच मुख्य प्रतिस्प्रर्धा हुने देखिएको छ ।
यस्तै, प्रदेश सभा क्षेत्र नम्बर १ मा गठबन्धनबाट नेपाली कांग्रेसका वीरबहादुर विष्ट, नेकपा एमालेका सुरेन्द्र पाल र स्वतन्त्रबाट हरिमोहन भण्डारीबीच मुख्य प्रतिस्प्रर्धा हुने आँकलन गरिएको छ । प्रदेश सभा क्षेत्र नम्बर २ गठबन्धनबाट नेपाली कांग्रेसका शिवराज भट्ट र एमालेका लिलाधर भट्टबीच प्रमुख प्रतिस्प्रर्धाको अनुमान गरिएको छ ।
गएको बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको मत हेर्दा बैतडीमा गठबन्धन दलको मत ५१ हजार ८२१ रहेको छ । एमालेको भने ३५ हजार ४८ मात्रै रहेको छ । कांग्रेसको ३३ हजार ६८३, माओवादीको १४ हजार ९९८, नेकपा एकीकृत समाजवादीको ३ हजार १४० र राप्रपाको २ हजार ४ मत प्राप्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्