
काठमाडौं । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथ लगायत देशभरका शिवालयमा महादीपदान गरिएको छ ।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्र लगायत देशभरका शिवालयमा महादीपदान गरिन्छ ।
पितृका नाममा बत्ती बाल्न पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ ।
त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले सोमबार साँझ विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् ।
त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड महादीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् ।
रातभर दीपदान गरी बसेका भक्तजनले भोलिपल्ट बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । जाडोको मौसम भएकाले दीपदान गर्नेहरुका लागि पशुपति क्षेत्रमा पाल लगायतको व्यवस्था गरिएको छ ।
आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै एक सय आठ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरुप र किराँतेश्वर आदि ठाउँमा सतबीज छर्ने गरिन्छ ।
सप्तबीज अर्थात् धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश दिने गरिन्छ ।
वागमती किनारको मृगस्थलीमा महादेव मृगरूप धारण गरेर बिहार गर्नुभएको थाहा पाइ त्यस शिवरुपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरु आउँदा सो बथानमा भगवान शिवलाई पार्वतीले चिन्न सकेको किंवदन्ती छ ।
प्रतिक्रिया दिनुहोस्