१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सोलुखुम्बुमा मतगणना सुरु


104
Shares

सोलुखुम्बु । सोलुखुम्बुमा ढिलो गरी मतगणना सुरु भएको छ ।

भौगोलिक रुपमा ठूलो क्षेत्र भएकाले सोमबार साँझ मात्र सबै स्थानबाट मतपेटिका आएपछि मंगलबार साँझ ५ बजेबाट मात्र गणना सुरु भएको छ ।

खुम्बु क्षेत्रको ३६ थान मतपेटिका हेलिकप्टरमार्फत सल्लेरी ल्याइएको थियो । खुम्बु पासाङल्हामू गाउँपालिकाको नाम्चे र लुक्लामा सङ्कलन गरिएका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट सदरमुकामको फाप्लु विमानस्थलमा झारिएको हो ।

लामो बाटो घुमेर आउनुपर्ने भएकाले सबै भन्दा ढिलो लिखुपिके गाउँपालिकाबाट मतपेटिका ल्याइएको थियो । मतपेटिका आएपछि सर्वदलीय बैठकले ८ स्थानमा गणना गर्ने प्रस्ताव राखेपछि निर्वाचन अधिकृतको कार्यालयले आवश्यक व्यवस्थापन गर्न समय लाग्ने भन्दै मंगलबार दिउँसो १ बजेबाट गणना गर्ने सहमति भएको हो । तर १ बजे भनिएकोमा साँझ ५ बजेबाट मात्र गणना सुरु भएको छ ।

सोलुखुम्बुमा १३५ मतदान केन्द्र रहेका छन् । ८ पालिका भएको जिल्लामा सोलुदूधकुण्ड नगरपालिकामा ३३, थुलुङ दूधकोशी गाउँपालिकामा २६, माप्यदूधकोशीमा १७, नेचासल्यानमा १६, महाकुलुङमा १३, सोताङमा १२, खुम्बु पासाङल्हामुमा ११ र लिखुपिकेमा ७ वटा मतदान केन्द्र छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सोलुखुम्बुमा करिब ४८.३८ प्रतिशत मत खसेको छ ।