१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्लाही १ मा लोकतान्त्रिक समाजवादीका उम्मेदवारको अग्रता


585
Shares

सर्लाही । सर्लाहीको प्रतिनिधि सभा क्षेत्र नम्बर– १ को मतगणना जारी छ ।

जारी मतगण्नामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार रामप्रकाश चौधरीले अग्रता कायमै राख्नुभएको छ । अहिलेसम्म २९ हजार ५४० मत गनेर सकिदा चौधरीले ९ हजार ५९९ मत प्राप्त गर्नुभएको छ । सत्ता गठवन्धनबाट उम्मेदवार रहनुभएका चौधरीले प्रतिस्पर्धी भन्दा ९५९ मतले अग्रता लिनुभएको छ ।

दोस्रो स्थानमा रहनुभएका स्वतन्त्र उम्मेदवार मानबहादुर खड्काले ८ हजार ६४० मत प्राप्त गर्नुभएको छ । खड्कालाई एमालेले टिकट नदिएपछि उहाँले स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको थियो । खड्का लालबन्दी नगरपालिकाको निवर्तमान मेयर हुनुहुन्छ ।
यस्तै, तेस्रो स्थानमा रहनुभएका विपक्ष गठवन्धनबाट उम्मेदवार रहनुभएका जनता समाजवादी पार्टी (जसपा) का प्रमोद साहले ४ हजार ९८४ मत प्राप्त गर्नुभएको छ । साह सर्लाही १ का निवर्तमान सांसद हुनुहुन्छ ।

क्षेत्र नम्बर– १ मा ७५ हजार ९६१ मत खसेको थियो । प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर १ मा अहिलेसम्म ईश्वरपुर नगरपालिका १, २ र ३, चन्द्रनगर गाउँपालिका २ र ३, हरिपुर नगरपालिका २, ४, ६, ७, ८ र ९, लालबन्दी नगरपालिका २, ४, ७, ९, १३, १४, १५ र १६ नम्बर वडाको मतगणना भएको छ ।