२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


२३ वर्ष पछि संसद छिर्दै म्याग्दी कांग्रेस


741
Shares

म्याग्दी । नेपाली कांग्रेस म्याग्दीले २३ वर्ष पछि पहिलो पटक जिल्लामा प्रतिनिधि सभा सदस्यको निर्वाचन जितेको छ ।

निर्वाचन जितेसँगै दुई दशक पछि देशमा नीति निर्माण र सुशासन कायम गराउने थलो संसदमा म्याग्दी कांग्रेसको पनि प्रतिनिधित्व हुने भएको छ ।

२०५६ साल पछि पहिलो पटक म्याग्दी कांग्रेसका सभापति समेत रहेका खमबहादुर गर्बुजा (खमवीर) ले तेस्रो प्रयासमा प्रतिनिधि सभा निर्वाचनमा विजय प्राप्त गरेका हुन् ।

२०५६ सालमा नेपाली कांग्रेसको तर्फबाट नेपाली सेनाका सेवा निवृत्त म्याग्दीका कर्नेल स्व. नारायणसिं पुन विजयी भएका थिए । त्यस यता म्याग्दी कांग्रेसले विजय प्राप्त गर्न सकेको थिएन ।

गर्बुजाले २४ हजार २१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार १ सय ८९ मत प्राप्त गरे । प्रतिद्वन्द्वी नेकपा एमालेका श्रेष्ठले भन्दा ३ हजार ८ सय ३२ मत बढी ल्याएर निर्वाचित भएका हुन् ।

जिल्लाभरी ८६ हजार १ सय २० मतदाता रहेकोमा ५० हजार ६ सय २५ मत खसेको थियो ।

निर्वाचित भएसँगै गर्बुजाले यो आफ्नो मात्रै जित नभएर समग्र म्याग्दीबासीको जीत भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, ‘म जनताको शासक होइन सेवक भएर काम गर्ने छु, मेरो बुद्धि, वर्गत र सामर्थ्यले भ्याएसम्म म्याग्दीलाई विकासको मीठो फल चखाउने प्रयास गर्ने छु, कतै म अल्मलिएँ वा लर्वरिएँ भने मलाई सचेत बनाउनुहोला ।’

हँसिलो स्वभावका रसीला गर्बुजाले बेलायती सेनाबाट अवकाश लिई २०५४ सालमा नेपाली कांग्रेसमा आवद्ध भएदेखि निरन्तररुपमा कांग्रेसको दरिलो खम्बा बनेर म्याग्दीका विकट गाउँबस्तीहरुलाई विकासको उज्यालोले उजिल्याउने प्रयासमा लागिरहेका नेपाली कांग्रेस म्याग्दीका उपसभापति केवी भण्डारीले बताउनुभयो ।

२०५४ सालमा तरुणदलको सदस्यता लिएर म्याग्दीको विकासका लागि होमिनुभएका गर्बुजाको जन्म २०२२ सालमा रघुगंगा गाउँपालिकाको वडा नं ४ मा पर्ने दग्नाम गाउँमा भएको थियो ।

बुबा चकबीर गर्बुजा र आमा कृष्णकुमारी गर्बुजाको कोखबाट जन्मिएका खम्बीर गर्बुजा २०५६ को पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसका नारायणसिंह पुनलाई जिताउन अहोरात्र खटेर म्याग्देली जनहरुको मन जित्न सफल हुनु भएको थियो ।