
थोरै समयमा धेरै भूमिका निर्वाह गरेका म्यादी प्रहरी जिम्मेवारी मुक्त भएका छन् । कहिले ट्राफिक व्यवस्थापन त कहिले मतपेटिकाको सुरक्षाका लागि उभिएका म्यादी प्रहरी चुनावको राष्ट्रिय दायित्व पूरा गरी घर फर्किंदा मनभरी पेटभरी भए । राज्यले दिएको दायित्व सम्पन्न गर्न पाउँदाको क्षणले उनीहरुलाई सन्तुष्टि दिएको थियो ।
आम निर्वाचन २०७९ मा खटिएका म्यादी प्रहरीलाई बिहिबार बिदाई गरिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सुरक्षार्थ खटिएका १ लाख १५ हजार म्यादी प्रहरीलाई विदाइ गरिंदा कतिपयको मनभारी भयो भने कतिपय हाँसीखुशी बिदा भए । विशेष सुरक्षा योजना अन्तर्गत नेपाल प्रहरीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ७७ वटै जिल्लाबाट छनोट भएका एक लाख १५ हजार म्यादी प्रहरीले सफलता पूर्वक जिम्मेवारी निर्वाह गरेको क्षणलाई नेपाल प्रहरीले मुक्तकण्ठले प्रशंसा गरेको छ । काठमाडौ उपत्यका प्रहरी परिसरका प्रमुख भरत बोहोराले म्यादी प्रहरीले अनुशाशित भएर जिम्मेवारीपूर्वक निकै उत्कृष्ट काम गरेका बताउनु भयो । उहाँले उनीहरुको कामबाट नेपाल प्रहरी निकै प्रभावित भएको उल्लेख गर्नुभयो ।
विभिन्न वृत्त मातहतमा रही काम गरेका म्यादी प्रहरीहरुलाई प्रहरी वृत्तका प्रमुखहरुले प्रमाणपत्रसहित सम्मान गरेर बिदा गरेका थिए । म्यादी प्रहरीले ४० दिनको काम गराइबाट आफुहरु उत्साही भएको र भविष्यमा मौका मिले प्रहरीमै भर्ना भएर देशको सेवा गर्ने चाहना रहेको बताए । म्यादी प्रहरीबाट बिदा हुँदै गर्दा अमरबहादुर सुनुवारले आफूहरुलाई दिएको जिम्मेवारी कुशलता पूर्व सम्पन्न गर्न पाउँदा निकै खुशी लागेको र मौका मिले भविष्यमा फेरी सेवा गर्ने चाहना रहेको बताए ।
सरकारले हरेक निर्वाचनमा सुरक्षाकर्मी अपुग हुँदा म्यादी प्रहरीबाट काम चलाउँदै आएकोमा भविष्यमा क्षमता अनुसारको रोजगारी दिन उनीहरुले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्