१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


थुप्रै चर्चित अनुहारका लागि संसदको ढोका बन्द


6.825k
Shares

संसदमा वर्षौंदेखि पटक– पटक एउटै अनुहारका नेताको उपस्थितिलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका बेला प्रधानमन्त्री, पटक – पटक सभामुख र मन्त्री भइसकेका थुप्रै नेताहरुका लागि संसदको यात्रा रोकिएको छ । आम निर्वाचन २०७९ को कूल सीट मध्ये धेरै स्थानको मत परिणाम आइसकेको छ भने बाँकी स्थानमा मत गणना जारी छ । मतगणनामा शीर्ष नेताहरुको छत्रछायाँ र आर्शिर्वाद पाएर दलमा महत्वपूर्ण भूमिका पाएकाहरुका लागि जनमतले पत्याउन सकेन ।उनीहरु आगामी पाँच वर्षसम्म संसद बाहिरै रहनेछन् ।

अहिलेसम्मको मतपरिणामले केन्द्रीय राजनीतिमा वर्चस्व जमाएका उल्लेख्य नेताहरुहरुलाई पाखा लगाइदिएको छ । काठमाडौं क्षेत्र नमवर ५ बाट एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मतदाताबाट अस्वीकृत हुनुभएको छ । ०७४ सालमा सोही क्षेत्रबाट अभूतपूर्व मत ल्याएर निर्वाचित पोखरेलका लागि निर्वाचन परिणाम अप्रत्याशित भएको छ । यसैगरी एमाले महासचिव शंकर पोखरेल आफ्नै माटो र मुटु जोडिएको दाङमा पराजित हुनुभयो । अघिल्लो संसदमा प्रमुख सचेतक र सचेतकको भूमिकामा रहनुभएका एमालेका विशाल भट्टराईका लागि यस पटक संसद यात्रा कठिन बन्यो । प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईलाई भोजपुरे मतदाताले पाँच वर्षका लागि मतमार्फत छुट्टी दिएका छन् । एमालेभित्र छुट्टै खालको प्रभुत्व जमाउन सफल महेश बस्नेतलाई यसपटक भक्तपुरे मतदाताले विश्राम दिएका छन् । साद्गी नेताको छवि बनाएका लालबाबु पण्डित पनि एमाले सांसदको रुपमा गणनामा पर्नुहुने छैन उहाँ काँग्रेस नेता डा. शेखर कोइरालासँग पराजित हुनु भयो । सफल अर्थमन्त्रीको पगरी गुथेका सुरेन्द्र पाण्डेका लागि पनि संसद यात्रामा यस पटक ब्रेक लाग्यो । कोमल ओलीको प्रत्यक्ष सांसद बन्ने सपना पनि चकनाचुर भयो । दाङका जनाताले संसदमा पठाउन पत्याएनन् । ओलीको सट्टा काँग्रेसका दीपक गिरीलाई दंगाली जनताले संसद पठाएका छन् । त्यस्तै एमाले उपमहासचिव प्रदीप ज्ञवाली पनि यसपटक संसद छिर्न सम्क्नु भएन ।

कम्युनिष्ट आन्दोलनमा सम्मानित इतिहास रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालका लागि यो चुनाव महंगो भएको छ । मतगणनामा खनाल एमालेका उम्मेदवार भन्दा पछि पर्नुभएको छ । बाबु सूर्यबहादुर थापाको विरासत त्यागेर कांग्रेसको राजनीतिमा समाहित सुनील थापाका लागि यो चुनाव फापेन उहाँ धनकुटा बाट संसद छिर्न सक्नु भएन । सांसदको जनादेश पाउन उपसभामुख त्यागेर चुनावी मैदानमा पुग्नु भएकी पुष्पा भुसाललाई अर्घाखाँचीका मतदाताले रुचाएनन् । विश्वविद्यालयमा पढाउँदा पढाउँदै राजनीतिमा हेलिनुभएका भीमसेनदास प्रधानको तेस्रोपटक सांसद बन्ने दाउ पूरा भएन । मधेशी जनताको मठाधीश भएर वर्षौंदेखि राज्यका महत्वपूर्ण पदमा हालीमुहाली गर्दै आएका मधेशी नेताहरुका लागि यो चुनाव दुर्भाग्यपूर्ण सावित भएको छ । उपेन्द्र यादवका लागि यो चुनाव महँगो सावित भएको छ ।

माओवादी नेतृत्वका लागि पनि यो चुनाव उर्जाशील रहेन । महासचिव देव गुरुङ, सचिव पम्फा भुसाल, सभामुखको जिम्मेवारी निर्वाह गर्नुभएका ओनसरी घर्तीको हैसियत पूर्व सांसदमा अनुवाद भएको छ । सूर्य चुनाव चिन्ह लिएर उठेका नेपाली राजनीतिका चर्चित पात्र कमल थापा सांसद बन्ने रहर मकवानपुरबासी पूरा गरिदिएनन् । चुनावको प्रारम्भिक नतिजाले आस र त्रास दुवै रोपेको छ । नयाँहरु अग्निपरीक्षामा होमिएका छन भने पूरानालाई मतदाताले सवक सिकाएका छन् । उनीहरुले पाउने नम्बरका लागि भने केही समय कुर्नैपर्ने हुन्छ ।