
जनकपुर । जनकपुरमा जारी साताव्यापी राम जानकी विवाह पञ्चमी महामहोत्सव अन्तर्गत शनिबार फूलबारी लीला मनाइएको छ ।
फूलबारी लीलामा भगवान राम र लक्ष्मणको प्रतीकका रुपमा एक जोडा बालबालिकालाई विवाहमण्डप प्राङ्गणमा रहेको फूलबारीमा घुमाइन्छ ।
सप्ताहव्यापी रुपमा मनाइने महोत्सवको पहिलो दिन नगरदर्शन सम्पन्न भएको थियो । त्रेतायुगमा भगवान् राम र लक्ष्मण जनकपुरधाम आएको बेला फूलबारीमा घुम्न जाँदा सखीसहेलीसँग फूल टिप्न आएकी जानकीसँग पहिलो भेट भएको भन्ने कथन छ ।
विवाह पञ्चमी महोत्सवमा फूलबारीमा घुमाउँदै राम र सीताको भेटघाट गराउने चलन रहेको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले जानकारी दिनुभयो । मिथिलाको उत्सवमध्ये विवाहपञ्चमीलाई महामहोत्सवका रुपमा भव्यरुपमा साथ मनाउने गरिन्छ ।
त्रेतायुगमा भगवान राम र सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सव मनाइँदै आएको छ । महामहोत्सव अन्तर्गत धनुषयज्ञ, तिलकोत्सव, मटकोर, स्वयंवर र अन्तिम दिन रामकलेवा गरी यसवर्षको सीताराम विवाहपञ्चमी सम्पन्न हुने छ ।
प्रतिक्रिया दिनुहोस्