
काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ प्रतिनिधिसभाका लागि नेकपा (एमाले)का उम्मेदवार जगदिशप्रसाद कुसियतले आफूले हार्ने निश्चित भएपछि मतगणना कार्य अवरुद्ध पारेर सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बखेडा झिकिरहेको आरोप लगाउनुभएको छ ।
मन्त्री कार्कीले मानसिक रुपमा आफू हार्ने निश्चित भएपछि अन्तिम समयमा आएर मतगणना नै हुन नदिएको उहाँले बताउनुभयो । सञ्चारमन्त्री कार्कीले गत शनिबार अपरान्ह धाँधली भएको भन्दै पुनः मतगणना गर्नुपर्ने माग राखेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलीय सहमति जुटाएर मतगणनाको कामलाई सुचारु गराउन आइतबार बिहान सर्वदलीय बैठक बोलाएको थियो ।
बैठकमा मन्त्री कार्कीले पुनः मतगणना हुनुपर्ने अडान राखेपछि अझै मतगणना कार्य अघि बढ्न सकेको छैन । एमाले उम्मेदवार कुसियतले भने बाँकि रहेको मत गणना कार्य तत्काल सुरु गर्न निर्वाचन आयोगसँग माग गरेको बताउनभयो । आफूहरुको सो अडान कानूनसम्मत भएको दाबी गर्दै उहाँले त्यसबाट पछि हट्न नसकिने पनि स्पष्ट पार्नुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दुवै पक्षका उम्मेदवारहरुबीच सहमति जुटाएर मतगणना कार्य सुचारु गराउन पहल भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्