२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अब बन्ने सरकार जनमुखी हुनुपर्ने डडेल्धुराबासीको अपेक्षा


949
Shares

डडेल्धुरा । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा पुगेका बेला अब बन्ने सरकार जनमुखी हुनुपर्ने डडेल्धुराबासीले माग गरेका छन् । भ्रष्टाचार नियन्त्रण, सुशासन, कृषिमा आधारित रोजगारी, स्वास्थ्य लगायतका विकासका लागि अब बन्ने सरकारको लक्ष्य हुनुपर्ने उनीहरुको भनाइ छ ।

डडेल्धुरामा प्रतिनिधि सभा सदस्यमा वर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित प्रदेश क मा गठबन्धनका खगराज भट्ट र प्रदेश ख मा स्वतन्त्र उम्मेदवपार डा. ताराप्रसाद जोशी निर्वाचित भएपछि डडेल्धुरावासीले सुशासन र समृद्धिको पक्षमा काम गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई सुझाव दिएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री, नेकपा एमालेका केन्द्रीय सदस्य तथा हालै सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा डडेल्धुरा प्रदेश ख का प्रत्यासी पठानसिंह बोहराले अब गठन हुने दुवै तहका सरकार र संसद स्थिर हुनुपर्ने, विकासलाई प्राथमिकता दिई जनतालाई सुविधा दिनेगरि अगाढी बढ्नु पर्ने बताउनुभयो ।

यता, गठबन्धन कायम राख्दै व्यवस्था जोगाउनु पर्ने, राष्ट्रियतालाई बलियो पार्दै संविधानको कार्यान्वयन गर्ने लगायत जनतासँग गरेका वाचा पुरा गर्ने र जनप्रिय एवं जनमुखी सरकार बन्नेतर्फ अब बन्ने सरकारको ध्यान जानुपर्ने गठबन्धनका नेता गुणाकर चटौत र मान सिंह माल बताउनुहुन्छ ।

नयाँ जनादेशका सम्बन्धमा डडेल्धुराका सर्वसाधारणले पनि भ्रष्टाचार नियन्त्रण, प्रणालीको सुदृढीकरण, सुशासन, कृषिमा आधारित रोजगारी, गुणस्तरीय पूर्वाधार विकास निर्माण तथा शिक्षा, स्वास्थ्य लगायत समृद्धिको प्रतिवद्धता सहित अब बन्ने सरकारको लक्ष्य हुनुपर्ने बताएका छन् ।

देशैभरी दलहरुलाई चुनौति दिनेगरि आएको निर्वाचन परिणामबाट दलहरु परिस्कृत हुनुपर्ने अपेक्षा डडेल्धुराबासीको छ । नागरिक अधिकार स्थापित लगायतका उनीहरुको अपेक्षा पूरा गर्न नवनिर्वाचित जनप्रतिनिधि र अब बन्ने सरकार कटिवद्ध हुन जरुरी छ ।