२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बौद्धिक वर्गलाई संसदमा तान्नै कठिन


0
Shares

काठमाडौं । अब जुनसुकै र जो सुकैको सरकार बनेपनि त्यसले जनताका आधारभुत आवश्यकताको तत्काल सम्बोधनसँगै दुर्घटनाको डिलमा पुगेको अर्थतन्त्र लयमा ल्याउनुपर्ने दायित्व निर्वाह गर्नुपर्ने छ । यसअघि पटक पटक अर्थतन्त्रको सारथी बनेर कार्यभार सम्हालेका नेताहरु जनमत लिएर संसदमा टेक्ने मौका त पाउँदै हुनुहुन्छ तर जम्मा गरेको पैसा खर्च गर्ने भन्दा पनि खोक्रो चाकामा मह भर्ने इच्छाशक्ति भएको वित्तीय व्यवस्थापक अर्थजगतले खोजेको छ ।

प्रतिनिधि सभाको निर्वाचनमा बहालवालासहित पाँच पूर्व अर्थमन्त्री चुनावमा होमिए । जसमा एमालेबाट उम्मेदवारी दिएका सुरेन्द्र पाण्डे बाहेक अन्यले जित हासिल गरेका छन् । पूर्वअर्थमन्त्री समेत रहेका बहालवाला सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको जित धर्मरमा छ । गणना चित्त नबुझेपछि उहाँकै आग्रहमा अहिले त्यो क्षेत्रको मतगणना स्थगित भएको छ । यी बाहेक अन्य बहालवाल अर्थमन्त्री जनार्दन शर्मासहित पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल, वर्षमान पुन विजयी हुनुभएको छ ।

एमालेका तर्फबाट चितवन क्षेत्र नं १ उम्मेदवार बन्नु भएका सुरेन्द्र पाण्डे राष्ट्रिय स्वततन्त्र पार्टीका हरि ढकालसँग फराकिलो मताअन्तरले पराजित हुनभयो । चुनाव अघिसम्म पाण्डेका मुख्य प्रतिस्पर्धिका रुपमा हेरिएका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं अर्थशास्त्री डा. विश्व पौडेल २४ हजार ९ सय ९० मत ल्याउदै तेश्रोमा खुम्चिन पुग्नुभयो । चालु वर्षको बजेट निर्माण प्रक्रियामा विवादित बन्न पुगेका बहालवाल अर्थमन्त्री जनार्दन शर्मालाई संसदीय छानबिन समितिले सफाई दिएपछि निर्वाचनमा होमिनु भएको थियो । सत्तारुढ गबन्धनको तर्फबाट साझा उम्मेद्वार बन्नु भएका उहाँ रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा भारी मतले विजयी हुनुभयो । उहाँले ३९ हजार ५ सय ४९ मत प्राप्त गर्दा शर्मासँग प्रतिस्पर्धामा एमालेका नन्दराम देवकोटाले १२ हजार ९ सय ६१ मत मात्र प्राप्त गर्नुभयो ।

यसैगरी, रोल्पाबाट उम्मेदवारी दिनु भएका माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले ४१ हजार ७ सय १४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धि पूर्ण बुढा मगरले १६ हजार ४ सय ८५ मत प्राप्त गर्नुभएको छ । अर्का पूर्वअर्थमन्त्री विष्णु पौडेलले भने रुपन्देही क्षेत्र नं दुईमा जित हासिल गर्नुभएको छ । उहाँले प्रतिस्पर्धी गणेश पौडेललाई १ हजार ४ सय ६६ मत अन्तरले पराजित गर्दै २७ हजार ४ सय ४८ मतका साथ विजय हासिल गर्नुभएको छ ।

चुनाव सधै पेचिलो र प्रतिस्पर्धात्मक नै हुने गर्छ । यसपटकको निर्वाचनले आर्थिक बौद्धिक वर्गलाई संसदमा तान्न नसकेको देखिएको छ । मुलुकको नीति निर्माण तहमा पुग्नुपर्ने बौद्धिक वर्ग बाटोमा रोकिँदा वर्तमानमा संकटउन्मुख अर्थतन्त्रले भोलिका दिनमा जटिलता ल्याउने खतरा झनझन टड्कारो बनेको छ ।