
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ ।
यहाँका कृषकले सुन्तला बिक्री गरेर २ करोड रूपैयाँ भन्दा बढी आम्दानी गरेका छन् । गत वर्ष ७५ लाखको सुन्तला बिक्री गरेका दोसल्लेका कृषकहरु यो वर्ष उत्पादन राम्रो हुँदा उत्साहित भएका छन् । गत वर्षको भन्दा दुई गुणा बढी उत्पादन र आम्दानी भएपछि कृषकहरु उत्साहित भएका हुन् ।
मंसिर लागेसँगै दोसल्लेका कृषकहरुलाई सुन्तलाको हिसाब-किताब गर्न भ्याई-नभ्याई भएकाे छ। २० वर्ष अघिदेखि दोसल्लेमा व्यवसायिक सुन्तला खेती हुँदै आएको अन्नपूर्ण गाउँपालिकाकी पूर्वउपाध्यक्ष केशमाया मगरले बताउनुभयो । कोदो, मकै, फापर फल्ने बारी र धानखेत मासेर किसानले सुन्तला खेती गर्न थालेका हुन् । म्याग्दीमा ६ सय ४० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गरेको छ ।
यो वर्ष म्याग्दीमा २ हजार ३० मेट्रिक टन सुन्तलाबाट १० करोड रुपैयाँ भन्दा बढी आम्दानी हुने कृषि ज्ञान केन्द्रले अनुमान गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस्