३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


शेयर बजारमा सामान्य वृद्धि


39
Shares

काठमाडौं । सोमबार दोहोरो अंकले ऋणात्मक रहेको शेयर बजार मंगलबार सामान्य अंकले हरियो रह्यो ।

आइतबार ३२ अंकले उकालो लागेको बजार सोमबार १६ अंकले घटेकोमा मंगलबार सामान्य अंकले सकारात्मक रहेको हो । उतार चढावबीच बजार परिसूचक नेप्से करिब ३ अंकले सकारात्मक रहेर १९ सय ५३ कायम भयो । कारोबार भने थप घटेर अर्ब तलै खुम्चियो ।

यस दिन आधा भन्दा बढी अर्थात् ७ वटा समूह हरियो रहँदा ६ वटा रातो रहे । जीवन बीमा समूह सबैभन्दा उच्च ३० अंक र विकास बैंक समूह २८ अंकले उकालो लाग्दा लघुवित्त, वित्त, अन्य, जलविद्युत र सामूहिक लगानी कोष सामान्य अंकले सकारात्मक रहेका हुन् । निर्जीबन बीमा, वाणिज्य बैंक, होटल तथा पर्यटन, उत्पादनमूलक, व्यापार र लगानी समूह सामान्य अंकले ऋणात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३४ कम्पनीको करिब २६ लाख बराबर कित्ता शेयर जम्मा ९६ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यसमध्ये १ सय २० कम्पनीका लगानीकर्ताले कमाउँदा ६७ कम्पनीका लगानीकर्ताले गुमाएको पनि नेप्सेले जनाएको छ ।