
मुस्ताङ । मुस्ताङबाट यस वर्ष ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ ।
मुस्ताङमा उत्पादन भएको ६ हजार ६०० मेट्रिक मध्ये ७० प्रतिशत स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत भदौमा प्रतिकिलो १०० का दरले बिक्री भएको मुस्ताङको स्याउको मूल्य मंसिरको पहिलो साता आइपुग्दा प्रतिकिलो १२० देखि १३० सम्म भएको छ । सरदर प्रतिकिलो ११० का दरले स्याउ बिक्री भएको कृषकहरुले बताएका छन् ।
यस अनुसार निकासी भएको स्याउको मूल्य पचास करोड ८२ लाख हुन आउँछ केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले गत वर्षका तुलनामा यसपाली १८.५६ प्रतिशतले स्याउ उत्पादन बढेको जानकारी दिनुभयो ।
जिल्लाको पाँच वटै स्थानीय तहमा एक हजार ४ सय ७५ हेक्टर जमिनमा स्याउ खेती गरिएको छ । क्रप कटिङ सर्वेक्षण गर्दा जिल्लामा प्रतिहेक्टर ११.३७ मेट्रिकटन स्याउ उत्पादन हुने पाइएको प्रमुख बस्ताकोटीले बताउनुभयो ।
यसैगरी जिल्लामा कुल स्याउ उत्पादन मध्ये यसवर्ष ४ सय ४० मेट्रिकटन उच्च घनत्व प्रविधिमा आधारित स्याउको उत्पादन भएको छ । जिल्लामा ३८ हेक्टर जमिनमा उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती गरिएको छ ।
तीमध्ये २२ हेक्टरका बगैंचाले उत्पादन दिइरहेका छन् । मुस्ताङमा फलेकामध्ये ७० प्रतिशत स्याउ बाहिर निर्यात हुने गरेको छ भने बाँकी जिल्लामै खपत हुने गर्छ । बर्सेनि व्यापारीहरू स्याउ नपाक्दै खरिदका लागि आउने गर्छन् । भदौ महिनामा बैनापट्ट गरेर गएका व्यापारी असोज लागेपछि स्याउ टिप्न आउँछन् ।
प्रतिक्रिया दिनुहोस्