१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनगढीमा ग्रेडरको ठक्करबाट बालिकाको मृत्यु, घटनाको विरोधमा स्थानीयले गरे प्रर्दशन


117
Shares

कैलाली । धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर पिपल चौतारा सडकखण्डमा आज बिहीबार बिहान कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिँदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा अध्ययनरत बालिका साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार बालिका साइकलमा स्कुल जाँदै गर्दा सडकको लेवल मिलाउँदै गरेको अवस्थामा ब्याक गर्ने क्रममा ठक्कर दिइएको थियो ।

ठक्कर दिने ग्रेडर चालक चितवनको भरतपुर महानगरपालिका–२८ का २७ वर्षीय बिमल कुमाल र ग्रेडरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विरोधमा स्थानीयले प्रर्दशन गरिरहेका छन् ।