
काठमाडौं । दोलखाको १० मतदान केन्द्रमा बिहीबार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि भएको पुनः मतदानमा ५० प्रतिशत मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार ५० प्रतिशत मत खसेको र निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । ती मतदान केन्द्रमा ४ वटा बुथमा ८ हजार ५ सय १४ मतदाता रहेका छन् ।
सो जिल्लाको वैतेश्वर गाउँपालिका वडा नंं ६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठ मतदान केन्द्रको क र ख, वडा नं ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र क, ख र ग रहेको थियो । तामाकोशी गाउँपालिका वडा नं ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क, ख र ग मा मतदान भएको थियोे ।
ती मतदान केन्द्रमा मङ्सिर ४ मा भएको मतदानमा विवाद उत्पन्न भएपछि उक्त मतदान रद्द गरी पुनः मतदान गराउन यही मङ्सिर ११ गते निर्वाचन आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।
प्रतिनिधि सभामा एक निर्वाचन क्षेत्र रहेको दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेको यस क्षेत्रमा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उम्मेदवार रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्