
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर २६ गतेसम्ममा निर्वाचन प्रक्रियाका सम्पूर्ण काम सक्ने बताउनुभएको छ ।
शुक्रबार जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जिल्लामा निर्वाचनमा खटिने निर्वाचन अधिकृत र सुरक्षा निकायका प्रमुखका लागि राखेको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रक्रियाका सम्पूर्ण कामहरु मंसिर २६ गतेसम्म सक्ने तयारी रहेको बताउनुभएको हो ।
उहाँले मंसिर १९ गतेसम्ममा मत गणना कार्य सम्पन्न गरि सक्ने र राजनीतिक दलहरुलाई मंसिर २२ गतेसम्ममा निर्वाचित प्रतिनिधि सभा सदस्यहरुको नाम कानूनले तोकेअनुरुप पठाउनका लागि पत्राचार गरिने पनि उल्लेख गर्नुभयो । त्यसपछि राष्ट्रपति समक्ष प्रतिवेदन पेस हुने उहाँले बताउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले एकै चरणमा सबै ठाउँको निर्वाचन सम्पन्न गरेर आगामी दिनमा पनि सबै ठाउँमा एकै चरणमा निर्वाचन सम्पन्न गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गरेको बताउनुभयो । उहाँले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको उल्लेख गर्नुभयो ।
उहाँले आफूहरु वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट नभएको बताउनुभयो । उहाँले आगामी संसदमा निर्वाचन सम्बन्धी नयाँ कानून लैजाने तयारी भइरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – ‘हामी वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौँ । हामी छिट्टै अब नयाँ कानूनद्वारा निर्वाचनको व्यवस्थापन गरिनुपर्छ भन्ने कुरामा व्यापक तयारी गरिरहेका छौँ । सम्भवतः यो नयाँ संसदको नयाँ अधिवेशनमा नयाँ कानून प्रवेश गर्ने छ ।’
थपलियाले निर्वाचन आयोगले निर्वाचन समावेशी र लैगिकमैत्री होस् भन्ने चाहना राखेको भएपनि त्यस्तो हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले राजनीतिक दलहरुले लोकतान्त्रिक मूल्य मान्यताको व्यवहार देखाउन नसकेका बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्