
काभ्रे । नेकपा एमालेका नेता गोकुल बास्कोटाको भक्तपुरको लोकन्थलीस्थित घरलाई लक्षित गरी विष्फाेटक पदार्थ राखेकाे भेटिएकाे घटनाप्रति नेकपा एमाले काभ्रेले आपत्ति जनाएकाे छ ।
आज (आइतबार) नेकपा एमाले काभ्रेले एक विज्ञप्ति जारी गर्दै यस्ताे बताएकाे हाे । जीवनभर राष्ट्र र जनताकाे परिवर्तनकाे पक्षमा लागेकाे र लाखाैं जनताकाे विश्वास प्राप्त गरी निर्वाचित भएकाे जनप्रतिनिधिमाथि पटक-पटक गरिएकाे यस्ताे हिंसात्मक र आतंककारी गतिविधि अत्यन्तै खेदजनक भएकाे जारी विज्ञप्तिमा भनिएकाे छ ।
यस्ताे कायरतापूर्ण घटनाकाे तत्काल छानबिन गरी अपराधिक क्रियाकलापमा संलग्न भएकाहरूमाथि हदैसम्मकाे कारबाही गर्नकाे लागि पार्टी र सिंगाे काभ्रे जिल्लाबासीकाे तर्फबाट सरकार समक्ष जाेडदार माग गर्दछाैं विज्ञप्तिमा उल्लेख गरिएकाे छ । एमालेका नेता बास्कोटाको घर परिसरमा आइतबार बिहान शंकास्पद वस्तु भेटिएको थियाे । साेही शंकास्पद वस्तुलाई नेपाली सेनाले निस्क्रिय बनाएको छ ।
बास्कोटाको घरमा उहाँ संचारमन्त्री रहेकै बेला २०७६ फागुनमा बम विष्फोट भएको थियो । हालै सम्पन्न निर्वाचनमा काभ्रे–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बास्कोटा भने हाल काभ्रेमै रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्