
कञ्चनपुर । नेपाल विद्युत प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरमा विद्युत खपत बढाउन एवं आपूर्ति सुधार गर्न प्रसारण तथा वितरण प्रणालीको सञ्जाल विस्तार गर्ने भएको छ ।
प्राधिकरणले तत्कालको समस्या समाधान गर्न हाल रहेका प्रसारण र वितरण प्रणालीका संरचनाहरुको सुदृढीकरण र विस्तार गर्ने तयारी गरेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाललगायत प्राधिकरणको उच्चस्तरीय टोलीले यस क्षेत्रको स्थलगत अनुगमन भ्रमण गरी विद्युत आपूर्ति सुधारका लागि गर्नुपर्ने कामका विषयमा जानकारी लिएको छ ।
टोलीले नगरपालिका प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधिहरुसँग छलफल गरेको थियो । टोलीले प्राधिकरणका सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा वितरण केन्द्र प्रमुखहरुसँग छलफल गरी गर्मी सुरु हुनुभन्दा पहिलेनै विद्युत आपूर्ति सुधारका सम्पूर्ण कार्य सम्पन्न गर्न र त्यसका लागि आवश्यक पर्ने बजेटबारे तत्काल माग पेश गर्न निर्देशन दिएको छ ।
साथै सुदूरपश्चिमका जिल्लाहरुको विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी सोही अनुसार काम गर्नसमेत निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्