
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार गठनका लागि वर्तमान सत्तारुढ गठबन्धनको विकल्प नखोजेको स्पष्ट पारेको छ ।
आइतबार पार्टी केन्द्रिय कार्यालयमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले नयाँ सरकार गठनका लागि सत्तारुढ गठबन्धनको विकल्प खोज्नु नहुने निस्कर्ष निकालेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले नयाँ सरकार बनाउन गठबन्धनमा आधारित भएर सोच्नुपर्ने बताउनुभयो । गठबन्धनमा कुनै विमति वा असहमति पैदा नभएको भन्दै उहाँले आफूहरु गठबन्धन फेर्नुपर्छ भन्ने अवस्थामा नपुगेको उल्लेख गर्नुभयो ।
उहाँले पार्टीले गठबन्धनको विकल्प नखोजेको स्पष्ट पार्नुभयो । सोमबार गठबन्धनको बैठक बस्नेबारे जानकारी दिदैँ उहाँले सो बैठकमा निर्वाचनको समिक्षा गर्ने र अगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने सन्दर्भमा छलफल हुने बताउनुभयो ।
महासचिव गुरुङले नेकपा (एमाले)सँग गठबन्धन गर्ने सम्बन्धमा छलफल नभएको बताउनुभयो । उहाँले एमालेसँग पनि कुनै प्रकारको कुराकानी नभएको स्पष्ट पार्नुभयो । माओवादी केन्द्रले सरकार गठनको लागि पहिलो प्रयास गठबन्धनभित्रै गर्ने उहाँले बताउनुभयो ।
महासचिव गुरुङले निर्वाचन परिणाम अपेक्षा गरे अनुरुप नआएपनि सफल र परिणाममुखि नै भएको बताउनुभयो । निर्वाचन परिणामलाई स्वीकार्दै र कमी, कमजोरीहरुलाई सुधार्दै पार्टीलाई सुदृढ बनाउँदै अघि बढाउने बैठकको निस्कर्ष रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्