
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका- ९ भिमानदेखि वडा नम्बर १० काे सरकारी टोल जोड्ने सडक पुलको निर्माण तीब्र गतिमा सञ्चालन गरिएको छ ।
सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा अवस्थित प्रादेशिक सडक डिभिजन कार्यालयको करिब २० करोडको लागतमा सूर्य एण्ड सन्स निर्माण कम्पनीले ठेक्का सम्झौता गरी सोही सडक पुल निर्माणको काम सुरू गरेको हो । सडक पुलको ५ स्पान मध्धे यस वर्ष सबै स्पानको काम, पुलको रेलिङ र कलरिङ लगायतका काम समेत सम्पन्न गर्ने प्रादेशिक सडक डिभिजन कार्यालयले जनाएको छ ।
साेही सडक पुलकाे आगामी असार मसान्तसम्म सम्पूर्ण निर्माण कार्य पूरा हुनेछ । ४० मिटरको स्पान गरी कुल ५ स्पानको २ सय १२ मिटर लम्बाई र ११ मिटर चौडाई रहेको पुल डब्बल लेनको रहने प्रादेशिक सडक डिभिजन कार्यालयका प्रमुख डिभिजन इन्जिनियर देवनारायाण यादवले बताउनुभयो । विगतमा सोही स्थानमा कमलानदीमा सडक पु्लको अभावले वर्षायाममा आवतजावतमा गर्न कठिनाई हुँदा कमलामाई नगरपालिका-९ र १० का स्थानीयले कमला नदी वारपार गर्न ठूलो सास्ती व्यहोर्नु परेको थियो ।
सडक पुलको निर्माण भएपछि १२ महिना यातायातका साधनहरुको आवागमन भइ सोही क्षेत्रको समाजिक तथा आर्थिक विकासमा ठूलो टेवा पुग्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्