१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘लुम्बिनी प्रदेशको राजधानी दाङमा सार्नुको विकल्प छैन’


520
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले आफ्नो प्रदेशको राजधानी दाङको देउखुरी सार्नुको विकल्प नभएको बताउनुभएको छ ।

शंकर पोखरेल नेतृत्वको अघिल्लो सरकारले राजधानी सो ठाउँमा सार्ने निर्णय गरेकाले वर्तमान सरकारले त्यसलाई कार्यान्वयन गर्नुको विकल्प नरहेको उहाँले बताउनुभयो ।

मंगलबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खड्काले मन्त्रालयको भवनहरु बन्ने काम जारी रहेकाले सबै मन्त्रालयहरु क्रमशः सो ठाउँमा सार्दै जाने पनि स्पष्ट पार्नुभयो । तत्कालीन सरकारले गरेको निर्णय वर्तमान सरकारले कार्यान्वयन गर्नुपर्ने भएकाले दाङमा प्रदेशको राजधानी सार्ने कामलाई अघि बढाइएको उहाँले बताउनुभयो ।

मन्त्री खड्काले अन्तराष्ट्रिय शक्ति केन्द्रहरुले दलहरुलाई कमजोर बनाउने काम गरिरहेको भन्दै सचेत रहन पनि सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै नेकपा (एमाले)का प्रदेशसभा सांसद भोजप्रसाद श्रेष्ठले भने छापामारा शैलीमा मन्त्रालयहरु दाङमा सार्ने कामको सुरुवात गरिएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले राजनीतिक दल र सरोकारवाला निकायहरुसँग छलफल समेत नगरी सेवाग्राहीलाई असर पर्ने गरी मन्त्रालयहरु दाङमा सार्ने काम गरिएको भन्दै तत्काल फिर्ता गर्न पनि प्रदेश सरकारसँग माग गर्नुभयो ।

प्रदेश सांसद श्रेष्ठले पूर्वाधारको अभावमा जनताले सेवा पाउने काम सहज नहुने भएकाले पनि प्रदेश राजधानी लुम्विनीबाट अन्यत्र सार्न नमिल्ने जिकीर गर्नुभयो । लुम्बिनी प्रदेशको मख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको फर्निचर गएराति दाङको देउखुरीमा सार्ने काम गरिएपछि रुपन्देही एमालेका सांसदहरु त्यसको विरोधमा उत्रिएका छन् ।