
काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन् ।
निर्वाचन खर्च बुझाउने क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिमार्फत चुनावी खर्च बुझाउनुभएको छ ।
निर्वाचन आयोगले खर्च पेस गर्न निर्देशन दिएसँगै उम्मेदवारले खर्च विवरण जिल्ला निर्वाचन कार्यालय डडेलधुरामा बुझाउन थालेका हुन् ।
प्रधानमन्त्री देउवाले आफ्ना प्रतिनिधि पार्टीका सहसचिव प्रेमबहादुर महरमार्फत खर्च विवरण पेश गर्नुभएको हो । उहाँले निर्वाचनमा २६ लाख १२ हजार खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेस गर्नुभएको सहसचिव महरले जानकारी दिनुभयो।
प्रचार सामग्री छपाइ, यातायात, खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायत सात शीर्षकमा उक्त खर्च भएको भन्दै विवरण निर्वाचन कार्यालयमा बुझाइएको उहाँले बताउनुभयो ।
यस्तै, नेपाली कांग्रेस (बीपी)का उम्मेदवार कर्णबहादुर मल्लले १३ लाख ८ हजार, स्वतन्त्र उम्मेदवार कर्णबहादुर रावलले १ लाख १६ हजार, विक्रमबहादुर शाहीले २ लाख २ हजार १९० र राप्रपा उम्मेदवार गोविन्द खडायतले ४ लाख ४० हजार खर्च भएको भन्दै विवरण बुझाउनुभएको छ ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख करुणाकर अवस्थीका अनुसार डडेलधुरामा प्रतिनिधिसभातर्फ ३१ लाख, प्रदेशसभा (क)का लागि २१ लाख र प्रदेश सभा (ख) का लागि १९ लाख खर्चको सीमा तोकिएको थियो ।
एउटामात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधि सभामा ८ र २ वटा प्रदेश सभामा १२ गरेर २० उम्मेदवार रहेका थिए । उनीमध्ये १४ जनाले निर्वाचन खर्च बुझाइसकेको निर्वाचन अधिकारी अवस्थीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मंगबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाले पनि चुनावी खर्चको विवरण प्रतिनिधिमार्फत बुझाउनुभएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्