
काठमाडौं । काठमाडौं महानगरपालिकाले छरिएर रहेका योजनालाई एकीकृत रुपमा अगाडि बढाउने अभ्यासको थालनी गरेको जनाएको छ ।
२८ औं महानगर दिवसको अवसरमा सप्ताव्यापी कार्यक्रमहरु घोषणा गर्न बुधवार महानगरले गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो ।
महानगरका प्रवक्ता नविन मानन्धरले गुणस्तरीय र पहुँचयुक्त स्वास्थ्य र व्यवहारिक शिक्षा, सम्पदाको सन्तुलित विकासमा महानगर लागेको बताउनुभयो । उहाँले महानगरपालिकाले फोहारमैला व्यवस्थापनका लागि सरोकारवाला निकायहरुसँग समन्वय, साझेदारी र सहकार्य भइरहेको पनि बताउनुभयो ।
उहाँले शहरी विकासका छरिएर रहेका योजना, स्रोत र कार्यक्रमलाई एकीकृत रुपमा अगाडि बढाउने अभ्यासको थालनी गरिएको पनि बताउनुभयो । उहाँले महानगरमा राजश्व तिर्ने, भवन नक्शा स्वीकृत गर्ने लगायतका कार्य अनलाइन प्रणाली मार्फत गरिने तयारी भएको पनि बताउनुभयो । उहाँले सहरी सुन्दरता बढाउन होर्डिङ बोर्ड हटाउने, सार्वजनिक यातायात प्रणाली र पार्किङमा सुधार गर्ने काम भइरहेको बताउनुभयो ।
महानगरले महानगर दिवसको दिन मंसिर २९ गते महिला उद्यमी मेला र स्थानीय परिकारको प्रवद्र्धन गर्न खाना मेला गर्ने भएको छ । महानगरले महानगर दिवसको अवसरमा खुला क्षेत्रको सरसफाई, महशुस यात्रा, चित्रकला, विशेष सरसफाई, स्वास्थ्य शिविर, हाँडीगाउँ सम्पदा महोत्सव र सम्मान कार्यक्रमहरु गर्ने जनाएको छ । महानगरले जनप्रतिनिधि र कर्मचारीहरुलाई ‘महानगर सेवा गौरव पदक’बाट सम्मान गर्ने लगायतका कार्यक्रम पनि तय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्