१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बझाङका भेडापालक किसानहरू चिसो झल्न बेंसी झर्दै


156
Shares

बझाङ । बझाङमा चिसो बढ्न थालेसँगै हिमाली क्षेत्रका भेडापालक किसानहरु भेडासहित बेंसी झर्न थालेका छन् ।

जिल्लाको साईपाल गाउँपालिकाका भेडापालक जाडो छल्न बेंसी झर्न थालेका हुन् । जिल्लाको साईपाल गाउँपालिका, तल्कोट गाउँपालिका र मष्टा गाउँपालिका लगायतका ठाउँका भेडापालकहरु चरनका लागि वर्षायाममा लेकतिर जाने र हिउँदमा बेंसी झर्ने गर्दछन् । हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि र भेडी चरन क्षेत्रका हिमपात सुरु हुन थालेपछि भेडीगोठ बेंसी तर्फ झर्नु परेको साईपाल गाउँपालिका-१ का भेडापालक जयबहादुर बोहराले बताउनुभयाे ।

उहाँले भन्नुभयाे,-‘हिउँदाको समयमा चरन क्षेत्रमा हिमपात हुने हुँदा भेडा र बाख्राहरूलाई आहारको समस्या हुनेगर्छ । भेडापालक किसानहरू वर्षातमा ३ हजार मिटरदेखि ४ हजार मिटरको उचाईमा भेडीगोठ राख्ने गर्छाैं । वर्षायाममा उच्च लेकाली भेगका पाटनहरूमा भेडा चराउन लैजानछाैं ।’ अहिले चिसो कम हुने हुँदा मध्य पहाडी लेकहरूमा भेडीगोठ सार्ने गरेकाे उहाँले बताउनुभयाे । हिउँ पग्ली सकेपछि फेरी हिमालमा नै जाने गरेको उहाँले जानकारी दिनुभयाे ।

कार्तिक महिनादेखि फागुन लाग्दासम्म उच्च क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले बेंसीतिर झर्ने गरेको साईपाल गाउँपालिका-१ का स्थानीय मिलन धामीले बताउनुभयाे । भेडाका बथानसहित हिमाली पाटनबाट बेंसीमा भेडापालक झर्न सुरु गरेका उहाँले बताउनुभयाे । चर्को गर्मी र ज्यादै चिसो सहन नसक्ने भेडालाई जाडोबाट जोगाउन बेंसी झर्न थालिएको उहाँकाे भनाइ छ । जिल्लाका अधिकांश ठाउँको प्रमुख पेशाको रुपमा रहेको भेडापालन व्यवसाय गर्ने किसानहरु विभिन्न समस्याका कारण यस पेशाबाट दिक्क समेत हुन थालेका छन् ।

हिउँदायाममा बझाङका विभिन्न जंगल चाहार्दै बैतडी हुँदै डोटी जिल्लाको बौलेख र सकाइल लगायतका विभिन्न ठाउँसम्म पुग्ने र वर्षामा डोटीदेखि बझाङको साईपाल गाउँपालिकामा अवस्थित साईपला हिमालसम्मको यात्रा गर्दा भेडा च्याङग्रा पालन गर्दै आएका किसानहरु बताउछन् । सामुदायिक वनको नाममा स्थानीयले अनावश्यक दु:ख दिन थालेपछि परम्परादेखि गर्दै आएको व्यवसाय नै छोड्ने मनस्थितिमा पुगेको उनीहरू बताउँछन् । परापूर्वकालदेखि भेडा चर्ने, हिड्ने र बास बस्ने ठाउँमा स्थानीयहरुले अवरोध गर्न थालेका छन् । जिल्लाको काँडा, मेलबिसौना, रिलु, मष्टा, गडराय र दहवगर लगायतका करिब ३ सय भन्दा बढी परिवारले पालेका ३० हजार भन्दा बढी भेडा च्याङग्रालाई चरनकाे संकटकाे सामाना गर्नुपर्छ ।

साईपाल हिमालदेखि डोटीसम्मको यात्राका क्रममा आफूहरु धेरै ठाउँमा लुटिने, कुटिने र ठगिने गरेको भेडा ब्यावसायी साईपाल गाउँपालिका-१ का कालु धामीले बताउनुभयाे । सामुदायिक वनमा भेडा चराए बापत शुल्क तिर्नुपर्छ भन्दै विभिन्न बहानामा पैसा तिर्नु पर्ने हुन्छ । उहाँले भन्नुभयाे,-‘उनीहरुलाई पैसा दिएर पठायो केही दिनपछि अर्काे गाउँका मान्छे यो सामुदायिक वन त हाम्रोमा पर्यो भन्दै आएर सामुदायिक वनका पदाधिकारी त हामी हौं भनेर फेरी पैसा अशुल्छन् । एउटै वनमा ८-१० दिन भेडा चराए बापत पटक – पटक गरी १५-२० हजारसम्म तिर्नुपर्छ । पैसा नदिए भेडा नै खोसेर लैजान्छन । अर्काको ठाउँ खुरूखुरू जे भन्यो त्यही मान्नुपर्ने हुन्छ । ’

कतिपय ठाउँहरुमा त जंगलमा चराउन छोडेका भेडा पनि चोरेर खाइदिन्छन । बझाङ देखि डोटी लैजाँदा र ल्याउँदा वर्षमा कम्तिमा पनि १५-२० भेडा च्याङग्रा चोरकै लागि छुट्याउनु पर्ने बाध्यता रहेको भेडापालकको गुनासो रहेकाे छ । यातायातको सुविधा नपुगेका यहाँका धेरै ठाउँहरुमा अहिले पनि भेडा च्याङग्रामार्फत दैनिक उपभोग्य सामाग्रीहरु ढुवानी गर्ने गरिन्छ ।

चरन क्षेत्रमा देखिएको समस्याका कारण व्यवसायमा नै संकटमा पर्न थालेकोले परापूर्वकालदेखि नै भेडा हिडाउने, चराउने र बास बस्ने ठाउँमा देखिएको अवरोध हटाउनका लागि सरकारले नै पहल गर्नुपर्ने भेडा पालकहरुको माग छ । स्थानीय सरकारले पनि यसप्रति ध्यान नदिएको उनीहरुको आरोप छ ।