२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


व्याजदर नियन्त्रण र चालु पूँजी कर्जा निर्देशन स्थगनको माग गर्दै महासंघ पुग्यो राष्ट्र बैंक


104
Shares

काठमाडौं । व्याजदर नियन्त्रण र चालु पूँजी कर्जा निर्देशन स्थगनको माग लिएर नेपाल उद्योग वाणिज्य महासंघ पुनः राष्ट्र बैंक पुगेको छ ।

अर्थतन्त्र जोगाउन माग गर्दै प्रधानमन्त्री, अर्थमन्त्रीलाई भेटेर ब्याजदर र चालु पूँजी कर्जालगायत सम्बन्धी समस्या राख्दै आएको महासंघले मंगलबार पुनः राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष भेट गरी अर्थतन्त्र जोगाउन आग्रह गरेको हो ।

अर्थतन्त्रमा आन्तरिक र वाह्य कारणले वहुआयामिक प्रभाव परिरहेको हुँदा तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व एवं मुल्य स्थिरताका लागि राष्ट्र बैंकले विशेष पहल गर्नुपर्नेतर्फ महासंघले ध्यानाकर्षण गराएको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघका पदाधिकारी, प्रदेश च्याप्टरका अध्यक्षहरु र कार्यकारिणी समितिका सदस्यहरू सम्मिलित प्रतिनिधिमण्डलले मंगलबार गभर्नर अधिकारी सहितका उच्च अधिकारीहरुलाई भेटेर उक्त आग्रह गरेको हो ।

नेपालको निजी क्षेत्र सम्भवतः हालसम्मकै कठिन अवस्थाबाट गुज्रिरहेको भन्दै अध्यक्ष गोल्छाले व्याजदर स्थायित्व चालु पूंजी कर्जा सम्बन्धी नयाँ व्यवस्थाको स्थगन आदि उपायका माध्यमबाट केन्द्रिय बैंकले निजी अर्थतन्त्र चलायमान बनाउनु पर्ने बताउनुभयो ।

अध्यक्ष गोल्छाले मौद्रिक नीतिको समीक्षाले पनि समस्या समाधान गर्न नसकेको प्रष्ट गर्नुभएको महासंघले जनाएको छ । अर्थतन्त्रका महत्वपूर्ण आधारहरु जस्तो सिमेन्ट, डण्डी, घर जग्गा व्यवसाय, निर्माण, अटोमोवाइल लगायतको क्षेत्रमा ६० प्रतिशतसम्म गिरावट आएकाले तत्काल यी क्षेत्र लगायत सिंगो निजी क्षेत्रलाई चलायमान बनाउने वातावरण बनाउन अध्यक्ष गोल्छाले गभर्नर अधिकारी समक्ष आग्रह गर्नुुभयो ।

भेटका क्रममा गभर्नर अधिकारीले महासंघले दिएका सुुझावहरु अध्ययन गरी निर्णय गर्ने विश्वास दिलाउनुु भएको महासंघले जनाएको छ । तर चालु पूँजी कर्जा मार्गदर्शन अर्थतन्त्र र निजी क्षेत्रकै हितमा ल्याइएको भन्दै निर्णयमा अडिग रहनु्भएको बुझिएको छ ।