
सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिकाले घरपालुवा पशुपंक्षीलाई निरोगी राख्ने उदेश्यले निःशुल्क औषधि वितरण गर्ने भएको छ ।
साेही गाउँपालिकाको ७ वटै वडाका पशुपंक्षी पालक किसानहरुलाई वडाकै पायक पर्ने स्थानमा औषधि वितरण गरिने गाउँपालिकाले एक सूचना प्रकाशन गरी जानकारी गराएको हो। सुनकोशी गाउँपालिकाद्वारा प्रकाशित सूचना अनुसार मंसिर २७ गते वडा नम्बर १ को वडा कार्यालय दुम्जामा, २८ गते वडा नम्बर २ को कार्यालय ज्यामिरेमा, २९ गते वडा नम्बर ३ को कार्यालय झागाझोलीमा नि:शुल्क औषधि वितरण गरिने भएकाे छ ।
आगामी पुष ३ गते वडा नम्बर ४ को वडा कार्यालय डुडे, ४ गते गाउँपालिकाको कार्यालय रामटारमा, ५ गते वडा नम्बर ६ को कार्यालय खाल्टेमा र ६ गते वडा नम्बर ७ को कार्यालय मझुवामा नि:शुल्क औषधि वितरण गरिने सूचनामा उल्लेख गरिएको छ । सोही क्षेत्रका विभिन्न वडाका टोल बस्तीहरुमा बसोबास गर्दै आएका किसानहरुलाई गाउँपालिकाले तोकिएको मितिमा उपस्थित भई सेवा लिन सुनकोशीबासीलाई अनुरोध गरेको छ ।
केही समय अघि सिन्धुलीका कतिपय क्षेत्रमा घरपालुवा पशुपंक्षीहरुमा विभिन्न किसिमका सरुवा रोगको संक्रमणले बिरामी पर्दा स्थानीय पशुपालक किसानहरुलाई लाखौं नोक्सानी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्