२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सुदूरपश्चिम प्रदेशसभा बैठक कक्षका संरचना सुधार गरिँदै


13
Shares

काठमाडौं । दोस्रो कार्यकालका लागि गठन हुन लागेको सुदूरपश्चिम प्रदेशसभाको बैठक सञ्चालनका लागि धनगढीस्थित प्रदेशसभा भवनका आवश्यक संरचनामा सुधार गर्ने काम भइरहेको छ ।

प्रदेशसभा भवनको बैठक कक्षमा राखिएका कुर्सी, टेबुल, माइकको पुनः जडान कार्यका साथै र थप केही संरचनामा पहिलेको भन्दा सुधार गर्न लागिएको छ । यसबाहेक बैठक कक्षबाहिर सरसफाई र आवश्यक संरचनामा रङरोगन गर्ने कामसमेत भइरहेको छ ।

प्रदेश सभाका सचिव देवबहादुर बोगटीले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को संसद् सहयोग परियोजनाको रु. २० लाखको सहयोगमा सबै काम भइरहेको बताउनुभयो । ‘प्रदेशसभाको बैठक सञ्चालनका लागि सचिवालयले गर्नुपर्ने आफ्नो तयारी गरिरहेका छौँ,’ सचिव बोगटीले भन्नुभयो – ‘प्रदेशसभाका नव निर्वाचित सदस्यका बारेमा निर्वाचन आयोगबाट जानकारी आइसकेपछि सचिवालयले गर्नु पर्ने कामका बारेमा सम्बन्धित पक्ष र निकायसँग समन्वय गर्ने तयारीमा छौँ ।’

प्रदेश तहमा जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्त्वपूर्ण संस्था प्रदेशसभा हो । शासन प्रणालीमा तोकिएको विधिका माध्यमले नीति निर्धारण र कानून निर्माण गर्ने महत्त्वपूर्ण काम प्रदेशसभाले गर्छ । संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको कार्यान्वयनसँगै २०७४ देखि प्रदेशस्तरमा प्रदेशसभाले काम थालेको हो ।

हालै सम्पन्न निर्वाचनमार्फत प्रदेशसभाको दोस्रो कार्यकाल सुरु हुन लाग्दा सुदूरपश्चिम प्रदेशसभा भवन र बैठक कक्षलाई चिटिक्क पार्न लागिएको हो । सम्पन्न चुनावको अन्तिम नतिजासँगै सुदूरपश्चिम प्रदेशसभामा छ दलको प्रतिनिधित्व हुँदैछ । त्रिपन्न सदस्यीय प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत छैन ।

१९ सदस्य विजयी हुँदै सबैभन्दा ठूलो दल नेपाली कांग्रेस बनेको छ । ८ प्रत्यक्ष र ३ समानुपातिक गरी ११ सदस्य विजयी भएको नेकपा (माओवादी केन्द्र) दोस्रो र ३ प्रत्यक्ष र ७ समानुपातिक गरी १० सदस्य विजयी भएको नेकपा (एमाले) तेस्रो दलको रूपमा देखिएको छ ।

यसअघिको चुनावमार्फत एक÷एक सदस्यको प्रतिनिधित्व गरेको जनता समाजवादी पार्टी र तराई लोकतान्त्रिक पार्टी यो चुनावपछि भने प्रदेशसभाबाट बाहिरिएका छन् । प्रत्यक्षमा कुनै पनि क्षेत्रमा चुनाव जित्न नसकेका यी दुई पार्टीले समानुपातिकमा पनि आवश्यक मत ल्याउन सकेनन् ।

नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेशसभाका लागि नयाँ दलको रुपमा देखिएका छन् । पहिलो पटक नागरिक उन्मुक्तिको प्रत्यक्ष निर्वाचित ५ र समानुपातिक २ गरी ७ जना, राप्रपाको समानुपातिक निर्वाचित एक सदस्यको प्रदेशसभामा प्रतिनिधित्व हुँदै छ ।

यसअघिको प्रदेशसभामा १४ सदस्यसहित सबैभन्दा ठूलो दल रहेको नेकपा (एकीकृत समाजवादी) यो चुनावमा प्रत्यक्ष निर्वाचित ३ र समानुपातिक १ गरी ४ सदस्यमा सीमित हुन पुगेको छ । तत्कालीन समयमा नेकपा (एमाले) मा आएको विभाजनसँगै प्रदेशसभा सदस्यमा निर्वाचित २५ सदस्यमध्ये १४ सदस्य नेकपा (एकीकृत समाजवादी) मा लागेका थिए । प्रदेशसभामा एक जना स्वतन्त्र सदस्य (डडेलधुराबाट निर्वाचित डा. तारा जोशी)को पनि प्रतिनिधित्व हुँदै छ ।

प्रदेश सरकार गठनका लागि २७ जनाको बहुमत अवश्यकता हुन्छ । निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम प्रदेशप्रमुखलाई बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने जनाइएको छ । सचिव बोगटीले भन्नुभयो, “प्रदेश प्रमुखसमक्ष निर्वाचनको नतिजा आइसकेपछि सरकार गठनको प्रक्रिया सुरु हुन्छ होला ।”

प्रदेशसभामा पहिलो पटक भाग लिनुअघि कानूनबमोजिम सपथ लिनुपर्ने व्यवस्था छ । संविधानअनुसार सभामुख र उपसभामुखको निर्वाचन नभई दुवै पद रिक्त रहेको अवस्थामा प्रदेशसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ ।

सुदूरपश्चिम प्रदेशसभाका निवर्तमान ४ सदस्य पुनः दोस्रो कार्यकालका लागि प्रत्यक्ष निर्वाचनमार्फत निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र) का मानबहादुर धामी दार्चुलाबाट र अक्कलबहादुर रावल अछामबाट दोस्रो पटक पनि निर्वाचित भएका छन् । यस्तै, नेकपा (एकीकृत समाजवादी)का दीर्घबहादुर सोडारी कैलालीबाट र प्रकाशबहादुर रावल कञ्चनपुरबाट पुनः प्रदेशसभामा निर्वाचित भएका छन् ।

यो पटक कांग्रेस नेता डिल्लीराज पन्त प्रदेशको राजधानीसमेत रहेको कैलाली–५ बाट र एमाले नेता तारालामा तामाङ कञ्चनपुर–१ को प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । यसअघि उहाँहरु दुवै जना प्रदेशसभा सदस्य हुनुहुन्थ्यो ।

प्रत्यक्ष निर्वाचनमा टिकट पाउनुभएका १२ जना प्रदेशसभाका पूर्वसदस्यले भने यो पटकको चुनावमा पराजय बेहोर्नुपरेको छ । प्रदेशसभा सदस्यमा निर्वाचित हुने ४९ जना नयाँ अनुहार रहेका छन् ।