
नवलपरासी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीका पत्रकार स्वर्गीय घनश्याम पोखरेलका परिवारलाई दुर्घटना बिमा बापतको रकम हस्तान्तरण गरिएको छ ।
शाखा सदस्य पोखरेलको गत जेठ २४ गते भीरबाट लडेर मृत्यु भएको थियो । शाखाको बाह्रौं साधारण सभामा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले स्व. पोखरेलकी धर्मपत्नी नमिता पोखरेलाई बिमा बापतको चेक हस्तान्तरण गर्नुभएकाे हाे । शाखाले उक्त रकम पत्रकार पोखरेलकी ७ वर्षीय छोरी युनिका पोखरेलको नाउँमा उपलब्ध गराएको छ ।
चेक हस्तान्तरण गर्दै वरिष्ठ उपाध्यक्ष विष्टले पत्रकारहरुको हकहित र सुरक्षाका लागि जिल्ला शाखाहरुले गर्ने कामलाई केन्द्रले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयाे । सामाजिक सञ्जालमा आउने भ्रामक सूचनाले पत्रकारितामा चुनौती थपेको बताउँदै विष्टले पत्रकारिताको माध्यमबाट त्यसलाई चिर्न जरुरी रहेको बताउनुभयाे ।
साधारणसभामा पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव विक्रम खड्का र रुपन्देहीका अध्यक्ष रामराज पोखरेल लगायतका पत्रकारले पछिल्लो पटक पत्रकारिता क्षेत्र मर्यादित हुन नसकेको गुनासो आइरहेकाले त्यसलाई ध्यान दिएर पत्रकारले कलम चलाउनु पर्नेमा जोड दिएका थिए । जिल्ला शाखाले शाखामा आवद्ध ८६ जना सबै सदस्यहरुको दुर्घटना बिमा गराएको छ ।
हाल १ लाखको दुर्घटना बिमा गराइएकोमा त्यसलाई बढाएर ५ लाख बनाउन लागिएको जिल्ला कोषाध्यक्ष प्रकाश न्यौपानेले बताउनुभयाे । शाखाले आफ्नै कोषबाट दुर्घटना बिमा गराउने गरेको छ । पत्रकारहरुको उपचार र दैविप्रकोपलाई लक्षित गरी पत्रकार कल्याणकारी कोष समेत स्थापना गरेको छ ।
प्रतिक्रिया दिनुहोस्