
काठमाडौं । बाँकेको कोहलपुरमा पाँच महिनादेखि अवरुद्ध रहेको डायलासिस सेवा पुनः सुरु भएको छ ।
डायलेसिस सेवा अवरुद्ध हुँदा अकालमै मृत्यु हुने बिरामीको संख्या बढेको थियो । नेपालगञ्ज मेडिकल कलेजद्वारा सञ्चालित कोहलपुर मेडिकल कलेज दस बिघामा डायलासिस सेवा वीरगञ्ज हेल्थ केयर प्रालिको सम्झौतामा छ ।
उक्त कम्पनीले अस्पतालबाट भुक्तानी रकम नपाउँदा सेवा स्थगित भएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका सूचना अधिकारी सञ्जयकुमार पन्तले बताउनुभयो । उहाँका अनुसार बिरामीहरूको संख्या दिनहुँ बढ्दै गएको तथा बिरामीलाई निकै समस्या भएकाले अहिले अस्पतालले डायलासिस सेवा सुरु गरेको हो ।
डायलासिसका केही मेसिन बिग्रेकाले उक्त मेसिन पनि मर्मत गरी सेवामा ल्याउने उहाँले बताउनुभयो । ६ वटा मेसिन सेवाका लागि सञ्चालनमा ल्याइएको कर्मचारी संगठनका निवर्तमान सभापति कुश्माखर बस्यालले जानकारी दिनुभयो ।
डायलासिस सेवाका लागि ल्याइएको मेसिनले बिरामीहरुलाई राहत दिने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्