
काठमाडौं । अनलाइन सेवाले मानिसको जीवनलाई सहज बनाएकोमा दुईमत छैन । बैंकदेखि व्यक्तिगत जीवनका सम्पूर्ण गोपनीयता सेवाप्रदायकलाई बुझाएपछि मानिसको दैनिकी स्मार्ट त भएको छ तर सडक दुर्घटना हुँदा सम्बन्धित व्यक्तिको मोबाइल लक हुँदा घरपरिवारलाई खबर गर्नेदेखि घाइतेको उपचारसमेत प्रभावित हुने गरेको छ ।
डेढ महिनाअघि सिंहदरबारको पूर्वी गेट अगाडि बाटो काटने क्रममा विपरीत दिशाबाट आएको मोटरसाइकलले हान्दा परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत आस्था सुब्बाको घटनास्थलमै ज्यान गयो । उनीसँग रहेको सरकारी परिचय पत्रका आधारमा प्रहरीले मन्त्रालयका पदाधिकारीलाई स्थितिको जानकारी गरायो, तर मन्त्रालयसँग आफन्तको नम्बर थिएन । अचम्म त त्यतिबेला भयो आस्था दुर्घटनामा परेको खबर उनको घरमा अमेरिकाबाट आफन्तले दिए । जबकी दुर्घटनास्थल सुब्बाको घरबाट पैदलमा पाँच मिनेटको दूरीमा थियो ।
यो त एउटा उदाहरण मात्र हो । नेपाल प्रहरी, ट्राफिक प्रहरीले यस्तो अवस्था बारम्बार झेल्दै आएको छ । अझ काठमाडौंका साँघुरा गल्लीमा हुने घटनामा त दुर्घटनास्थल पत्ता नलाग्दा समयमै उद्धार नभएर अकालमा घाइतेको ज्यान जाने गरेको छ । प्रहरीका लागि समेत यो टाउको दुखाईको विषय बनेको छ । प्रहरीलाई खबरभएको ५ देखि १० मिनेमा घटना स्थलमा पुग्ने गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनाली बताउनुहुन्छ ।
प्रहरीकाअनुसार काठमाडौंको बसुन्धरामा भएको सडक दुर्घटनामा दम्पतिले ज्यान गुमाए । प्रहरीलाई सम्बन्धित परिवारको ठेगाना पत्ता लगाउन हम्मे हम्मे प¥यो । उद्धार गर्दाको समयमा घाइतेको ज्यान बचाउनु पहिलो कर्तव्य हुन्छ । यस्तो बेलामा प्रहरी स्वयं दबाबमा हुने गरेको छ । तर पनि घाइतेको सीम निकालेर भएपनि परिवारलाई तत्काल खबर गर्ने गरेको प्रवक्ता मैनाली बताउनुहुन्छ ।
यस्ता दुर्घटनामा सहयोग गर्नेभन्दा हेर्नेको संख्या अधिक हुने गरेको पाइएको छ । झन्झट व्यहोर्नुपर्ने भएका कारण सहयोग गर्न कोही अघि नसर्ने गरेको अभ्यासले देखाउँछ । अझ घाइतेको स्वामित्व लिने मान्छे नहुँदा अस्पतालसमेत घाइतेको उपचारमा तत्परता देखाउँदैनन । यस अवस्थामा नागरिकको सूचना प्रणालीलाई सहज बनाउन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्