८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


म्याग्दीकाे ज्यामरूककोट नयाँ पर्यटकीय स्थलको रूपमा चिनिदै


91
Shares

म्याग्दी । म्याग्दीमा १७ औं शताब्दीकाे ऐतिहासिक ज्यामरुककोट खड्गभवानी कोतबाट धवलागिरी हिमश्रृङखला र दर्जनौं बस्तीहरूको प्राकृतिक दृश्यावलोकन गर्न पर्यटकहरू जान थालेका छन् ।

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरु जान थालेपछि ज्यामरुककोट नयाँ पर्यटकीय स्थलको रुपमा चिनिदै जान थालेकाे हाे । साेही नगरपालिका-२ मा १५ वटा भन्दा बढी हिम श्रृङखला समेत रहेका छन् । बेनीको शिरैमा अवस्थित अग्लो ज्यामरुककोट डाँडा जहाँबाट दुई ठूला नदीले काँखमा राखे जस्तो देखिने सुन्दर बेनी बजारको दृश्य अवलोकन गर्न सकिन्छ ।

बजारसँगै देखिने रमणीय धौलागिरी हिम श्रृङ्खला र पहाडी रमणीय भू-भागको आकर्षक दृश्यले यहाँ पुग्ने जो सुकै मानिसकाे पनि मनलाई लोभ्याउने स्थानीय भीमबहादुर पौडेलले बताउनुभयो । बेनीदेखि करिब ४ किलोमिटरको उकालो यात्रा पछि पुग्न सकिने ज्यामरुककोटबाट १५ वटा हिमश्रृङखलाका साथै दर्जनौँ गाउँ, वनजंगल र नदीको नागबेली दृश्यले पर्यटकलाई आनन्दको महशुस गराउँछ ।

पर्यटकीय, जैविक र सांस्कृतिक सम्भावनालेयुक्त ऐतिहासिक र पुरातात्विक स्थल ज्यामरुककोट प्रशस्तै प्राकृतिक सौन्दर्यले युक्त भएर पनि प्रचारप्रसार नहुँदा ओझेलमा परेको थियो । यहाँबाट धवलागिरी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे लगायत १५ वटा भन्दा बढी हिमालको दृश्यावलोकन, म्याग्दी, पर्वत र बागलुङका ३० वटा भन्दा बढी गाउँ, सूर्योदय, ग्रामीण सौन्दर्य र सदरमुकाम बेनीबजार,प्रशिद्ध गलेश्वरधामका साथै म्याग्दी नदी र कालीगण्डकीको नागबेली दृश्य देख्न सकिने बेनी नगरपालिका-२ का वडाध्यक्ष यामबहादुर कार्कीले जानकारी दिनुभयो ।

बेनीदेखि लभ्लीहिलसम्म निर्माण गरिएको पदमार्गलाई विस्तार गर्ने र पूर्वाधारको विकास गरी पर्यटकीय क्षेत्र बनाउन नगरपालिकाले प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनुभयो । पर्यटकीय सम्भावना भएको यस क्षेत्रको भौतिक पूर्वाधार निर्माण गर्ने र प्रचारप्रसार गर्न सकेमा पर्यटक आगमनमा वृद्धि गर्न सकिने म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

बेनीदेखि व्यवस्थित पदमार्ग यस क्षेत्रको पर्यटकीय र प्राकृतिक सौन्दर्यका बारेमा प्रचारप्रसार गर्न सक्ने हो भने धवलागिरी, अन्नपूर्ण र मुस्ताङको भ्रमणमा आएका पर्यटकहरुलाई ज्यामरुककोटसम्म पुर्याउन सकिने उहाँकाे तर्क रहेकाे छ ।